यू–१९ महिला विश्वकप छनौट : नेपाल यूएईसँग १३ रनले पराजित
आईसीसी यू–१९ महिला टी–ट्वेन्टी विश्वकप छनोट क्रिकेटमा नेपाल यूएईसँग १३ रनले पराजित भएको छ।
यूएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेट गुमाएर रन १०९ रन मात्र बनाउन सक्यो।
नेपालकी कप्तान पूजा महतो अर्धशतक प्रहार गर्न २ रनले चुकिन्। ४३ बल खेलेकी उनले ५ चौकाको सहयोगमा ४८ रनको योगदान गरिन्।
सोनी पाख्रिन र साना प्रविनले समान १९-१९, सावित्री धामीले ६ र अलिसाकुमारी यादवले ३ रन बनाउँदा ज्योत्सनिका मरासिनी ११ रनमा अविजित रहिन्।
यसअघि युएईको सेभेन डिस्ट्रिक ग्राउण्ड अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो।
यूएईका लागि रिनिथा रजिथले सर्वाधिक ४८ रनको योगदान गरिन्। लाभानी केनीले २० र इन्दुजा नन्दकुमारले १२ रन बनाउनु बाहेक अरूले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालकी रिया शर्माले ३, पूजा महतो, करिश्मा गुरुङ र सीमा केसीले समान एक-एक विकेट लिए।
अघिल्ला दुई खेलमा प्रभावशाली जित निकालेको नेपाली टीम आज भने पराजित हुन पुग्यो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतविरुद्ध १ सय ८ रनको सानदार जित दर्ता गरेको थियो।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ।
यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।
प्रतिक्रिया