मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीले दिए सबै जिम्मेवारीबाट हटाउन निवेदन

मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले एमाले पार्टीको सबै जिम्मेवारीबाट हटाउन निवेदन दिएका छन् । अधिकारीले मन्त्री पदबाट  यसअघि नै राजीनामा दिइसकेका छन् ।

अधिकारीले स्पष्टीकरणसहित पार्टी जिम्मेवारीबाट मुक्त गर्न निवेदन दिएको नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । अधिकारी एमाले कोशी प्रदेश सदस्य समेत हुन् । जापान भ्रमणको सिलसिलामा उठेको सार्वजनिक टीकाटिप्पणी र आरोपप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भई त्यसबारेमा स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग पुर्‍याउन पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी पद मुक्त गरिदिन उनले निवेदनमा भनेका छन् ।

‘आफूले आन्तरिक मामिला तथा कानुन मन्त्रीको पदबाट राजीनामा बुझाई सकेको पार्टी परिवारलाई अवगत नै छ, उनले बुझाएको निवेदनमा भनिएको छ, ममाथि उठेका सार्वजनिक टिका टिप्पणी र आरोपको सत्य तथ्य छानबिनमा सहयोग पुर्‍याउने उद्देश्यले अनुसन्धान तथा छानबिनको अन्तिम टुङ्गो नलागेसम्म पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरी पाउँ ।’

‘प्रदेश कमिटीले स्पष्टीकरण सोधेको थियो, त्यसको जवाफ र जिम्मेवारी मुक्त गर्न एकैसाथ निवेदन दिनु भएको छ’, खतिवडाले भने, ‘उहाँले दिएको निवेदनमाथि पार्टीमा छलफल गरेर निर्णय हुन्छ ।’ नेता खतिवडाले अधिकारी अनुसन्धानको दायरामा आएमा थप निर्णय गर्नुपर्ने अवस्था आए गरिने बताए । अधिकारीमाथि नक्कली कागजपत्र बनाएर तीन जनालाई जापान लगेको आरोप छ ।

उनी कात्तिक दोस्रो साता एक कार्यक्रमका लागि जापान गए पनि त्यहाँको अध्यागमन विभागले फिर्ता पठाएको थियो । उनीसँगै जापान गएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूले प्रहरीलाई अधिकारीलाई १० देखि १२ लाखसम्म रकम दिएको बयान दिएका छन् । यता भोलि (शनिबार) बस्ने नेकपा एमाले सचिवालय बैठकमा अधिकारीबारे थप निर्णय गर्ने एमालेको तयारी छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शनिबारको बैठकमा अधिकारीबारे छलफल हुनसक्ने भन्दै छलफल भएपछि थप थाहा हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *