रास्वपाको प्रदर्शन : सात कार्यकर्ता प्रहरी नियन्त्रणमा
सहकारी ठगी, संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा रास्वपाका कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएको छ । प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेका प्रदर्शनकारीलाई अश्रुग्यास प्रहार गरेको छ ।
प्रहरीले रास्वपाका सात जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउनु अघिदेखि नै मंगलबार रास्वपाका कार्यकर्ताहरूले सडकमा प्रदर्शन थालेका थिए । रास्वपा कार्यकर्ता वाई चोकतर्फ गइरहेका थिए ।
सोही क्रममा प्रहरीले उनीहरूलाई रत्नचोकमा नै रोकेर अश्रुग्यास प्रहार गरेको हो । निषेधित क्षेत्र तोडेको, अराजक गतिविधि गरेकाका कारण सात जनालाई नियन्त्रणमा लिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।
यस्तै प्रहरीले रास्वपा कार्यकर्ताहरूले गरिरहेको आन्दोलनमा माइकिङ गर्न प्रयोग भएको गाडीको चाबी प्रहरीले खोसेको छ । मंगलबार पोखरामा रास्वपाका कार्यकर्ताले गाडीमा स्पिकर र माइक राखेर नाराबाजी गरेपछि प्रहरीले चाबी खोसेको हो । जुलुसमा प्रयोग भएको गाडीको चाबी खोसेपछि सांसद सोविता गौतमले गाडीको चाबी फिर्ता मागिरहेकी छिन् ।
प्रतिक्रिया