स्वर्णलक्ष्मी सहकारीमा पनि मुछिए जीबी र रवि, ऋणको ३५ वटा भौचर भेटियो

जिल्ला प्रहरी परिसर काठमाडौं र वृत्त कालीमाटीले स्वर्णलक्ष्मी सहकारी संस्थामा भएको रकम अपचलनको छानबिन सुरु गरेको छ।

जीबी राई अध्यक्ष रहेको उक्त सहकारीमा रास्वपा सभापति रविलामिछानेसहितले रकम अपचलन गरेको प्रहरीले भौचरसमेत फेला पारेको छ।
नियमविपरित जीबी र रविले गाडी खरिदका निम्ति लिएको ऋण फिर्ता गरेका छैनन्।

६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन्। कालीमाटी वृत्तमा दर्ता भएको उजुरी परिसरमा ल्याएर अनुसन्धान जारी राखिएको स्रोतले जनाएको छ।

पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जीबीलाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको छ भने लामिछानेलाई पक्राउ गरी अनुसन्धान जारी राखिएको छ।

२७ हजार बचतकर्ता रहेको स्वर्णलक्ष्मीबाट जीबी र रविले दुई पटक ऋण लिएको तर फिर्ता नगरेको भेटिएको हो।

२०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कात्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको छ।

‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार र ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार ऋण लिएका छन्।

दुई पटक गरी जम्मा ९३ लाख ८६ हजार ऋण लिएका थिए। उनीहरूले ६१ लाख ७३ हजार फिर्ता गरेका छैनन्। गैर कानुनी हिसाबले जीबी र लामिछानेको नाममा प्रवाह भएको ऋणको ३५ थान भौचर प्रहरीसँग सुरक्षित रहेको छ।

स्वार्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।

यसैबीच, स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा जीबी राईका साढु भाइ दीपक लामासहित २४ जनाविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ। काठमाडौँ महानगरपालिका–३ जोरपाटी बस्दै आएका दीपक लामा पोखरास्थित सूर्यदर्शन र बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा पनि संलग्न देखिएका छन्। स्वर्णलक्ष्मीका कोषाध्यक्ष कुमार रम्तेल हुन्।

रम्तेललाई कारागारबाट ल्याएर प्रहरीले बयान लिने तयारी गरेको छ। रम्तेल पछिल्लो समय गोरखा मिडिया प्रालिका पनि लगानीकर्ता बनेका थिए। उनले रवि लामिछानेका कारण नै गोरखा मिडिया डुबेको बयान दिइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर