नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै

विश्व कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले गत वसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको तस्बिर अंकित टिसर्ट प्रदर्शन गरेका थिए । गोलकिपर सुब्बाको जीवनीमा आधारित ‘एन्जिला’ नामक चलचित्रको प्रवर्द्धनका सिलसिलामा उक्त टिसर्ट सगरमाथा लगिएको थियो । आगामी माघ ११ गतेदेखि सार्वजनिक हुने उक्त चलचित्रमा प्रसिद्ध अभिनेता दयाहाङ राईलगायतका कलाकारसँग गोलकिपर सुब्बाले मुख्य पात्र बनेर अभिनय गरेकी छिन् । चलचित्रको पोष्टरमा गोलकिपर सुब्बाले बल समाइरहेको तस्बिर छापिएको छ ।

हिजो काठमाडौँको दशरथ रंगशालामा उनै गोलकिपर सुब्बा कप्तान रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसँग खेलेको सातौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमी फाइनल खेल कुनै चलचित्र प्रदर्शन भन्दा कम भएन । खेलमा प्रतिस्पर्धा, तनाव, विवादास्पद अवस्था, रोमाञ्चकारी क्षण तथा सुखद अनुभूतिजस्ता अनुभव दर्शकहरूले गरेका थिए । राति अबेरसम्म फुटबल प्रतियोगिता हेरेपछि नेपाल राष्ट्रिय आधारभूत विद्यालयबाट अवकाश प्राप्त पूर्व प्रधानाध्यापक दीपक कपालीले नेपाल र भारतबीचको फुटबल प्रतियोगिता कुनै चलचित्र हेरेजस्तै रोमाञ्चकारी लागेको टिप्पणी गरेका छन् ।

लिग चरणमा समूह विजेता बनेपछि चिर प्रतिस्पर्धी भारतसँगको प्रतिस्पर्धालाई नेपाली दर्शकहरूले निकै महत्त्व दिएका थिए । घरेलु मैदानमा हजारौँ नेपाली फुटबलप्रेमीहरुको उपस्थितिमा खेल्न पाउनु नेपाली फुटबल खेलाडीहरूका लागि महत्त्वपूर्ण अवसर थियो । नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक राजेन्द्र तामाङले सन् २०२२ मै भारतलाई नेपालले हराए पनि प्रतिस्पर्धीसँग सतर्क भएर खेल्नुपर्ने बताएका थिए । उनी नेपालको टिममा दक्षिण तथा मध्यएसियाकै उत्कृष्ट स्ट्राइकर भएकामा ढुक्क थिए । भारतीय प्रशिक्षक सन्तोषकुमार कष्यप भने सधैँ खाली रंगशालामा खेल्ने गरेका महिला खेलाडीहरूले आज भरिभराउ रंगशालामा खेल्न पाएकामा खुसी देखिन्थे । विगतमा महिला फुटबल प्रतियोगिताहरूमा दर्शकहरूको उपस्थिति कमै हुने गरेको थियो । तर करिब १५ हजार दर्शक क्षमताको दशरथ रंगशाला हिजो खचाखच भरिएको थियो । यसबाहेक टेलिभिजन प्रसारण तथा सामाजिक माध्यम युट्युबका माध्यमबाट पनि लाखौँ फुटबलप्रेमीहरुले यो खेल हेरेका थिए ।

महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता पाँच पटक जितिसकेको भारत तथा उक्त प्रतियोगितामा पाँच पटक नै उपविजेता बनेको नेपालबीचको हिजोको फुटबल खेल पूर्वार्द्ध अवधिमा प्रतिस्पर्धात्मक रूपले अघि बढेको थियो । दुवै पक्षबाट गोल आफ्नो पक्षमा गर्ने प्रयास गरेता पनि सफलता भने मिलिरहेको थिएन । यस अवधिमा भारतीय खेलाडीहरूले बढी फल खेलेको देखिएको थियो ।

भुटानी रेफ्रीको निर्णय
मध्यान्तरपछिको ५१औँ मिनेटमा भुटानी रेफ्री ओम चोकीले नेपालकी स्ट्राइकर रेखा पौडेललाई दोहोरो पहेँलो कार्डसहित रातो कार्ड देखाएर मैदानबाट बाहिर निकालेपछि खेल तनावपूर्ण हुन सुरु भएको थियो । रेखा नेपाली फुटबल टिमकी पहिलो रोजाइकी स्ट्राइकर हुन् । यसपालिको प्रतियोगितामा उनले नेपाली खेलाडीहरूमध्ये सर्वाधिक सात गोल गरिसकेकी थिइन् । युएईमा क्लबमा आबद्ध भई व्यावसायिक खेल खेलिरहेकी उनलाई निकाल्ने रेफ्रीको निर्णयपछि दर्शकहरू आक्रोशित बनेका थिए । त्यसपछि रंगशालामा सुरक्षाकर्मीहरू बढाइएको थियो । स्ट्राइकर रेखा पौडेलले अब नेपालले बङ्गलादेशसँग खेल्ने फाइनल खेल गुमाउनेछिन् ।

रेखालाई मैदानबाट निकालिएपछि खेल केही बेर अवरुद्ध बनेको थियो । १० खेलाडीमा सीमित नेपाली पक्षलाई ७२औँ मिनेट भारतीय टिमकी संगीता बासफोरले गोल गरेकी थिइन् । त्यसको लगत्तै नेपाली पक्षका तर्फबाट प्रीति राईले गोल गरे पनि रेफ्री ओम चोकीले मान्यता नदिएपछि खेल पुनः करिब एक घण्टा १५ मिनेट रोकिएको थियो । यसअघि दशरथ रंगशालामा यसरी लामो अवधिसम्म खेल रोकिएको उदाहरण छैन । जाडो याममा रातिको समयमा लामो समयसम्म खेल रोकिए पनि फुटबलप्रेमीहरु आ-आफ्नो स्थानमा नै रहिरहेका थिए । रेफ्री चोकीले सुरुमा गोल भएको संकेत गरे तापनि सहायक रेफ्री र फोर्थ अफिसियलको संकेत अनुसार गोललाई मान्यता नदिएपछि विवाद बढेको थियो । नेपाली खेलाडीहरूले खेल्न नमानेपछि उनीहरूलाई मनाउन फुटबल पदाधिकारीहरूले धेरै प्रयास गरेका थिए । नेपाली टिमले खेल पुनः सुरु नगरे कारबाही गर्न सकेसम्मको जानकारी साफ च्याम्पियनसिपका सम्बन्धित अफिसियलहरुले दिएपछि नेपाली टिम पुनः खेल्न मञ्जुर भएको नेपाली प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिएका छन् ।

खेल पुनः सञ्चालन भएलगत्तै नेपाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले गोल फर्काई आफ्नो टिमलाई बराबरीको स्थितिमा लग्न सफल भएकी थिइन् । दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये मानिएकी उनले गोल गरेर मुलुकको शिर उँचो त बनाइन् तर गोल गरेको जोसमा मैदान बाहिर निस्किएर टिसर्ट खोलेकामा रेफ्री चोकीबाट पहेँलो कार्ड ब्यहोर्न बाध्य बनिन् । खेलको निर्धारित समयमा एक-एक गोल भई बराबरीमा टुंगिएपछि समय नथपेर गराइएको ‘टाइब्रेकर’मा नेपालले भारतलाई दुई गोलका विरुद्ध चार गोलले पराजित गरी फाइनलको ढोका खोलेको थियो ।

टाइब्रेकरका लागि दुवै पक्षले गोलकिपर समेत परिवर्तन गरेका थिए । भर्खरै मैदान प्रवेश गरेकी नेपाली गोलकिपर अन्जना राना मगरले दुई वटा पेनाल्टी बचाएर मुलुकलाई जिताउन महत्त्वपूर्ण भूमिका निभाएकी थिइन् । साँझ ६ बजेर ३० मिनेट जाँदा सुरु भएको उक्त फुटबल तीन घण्टा भन्दा बढी चलेको थियो । खेल समाप्त हुँदा रातिको झन्डै १० बजिसक्दा पनि पनि दर्शकहरू प्यारापिटको सिटबाट नउठेर नेपाली टिमको जितमा खुसीयाली मनाइरहेका थिए ।

भुटानसँगको त्यो बराबरी
सातौँ साफ महिला च्याम्पियनमा नेपालको पहिलो खेल नै बिग्रेको थियो । विगतमा पराजित गर्दै आएको भुटानलाई कुनै गोल गर्न नसकी पराजित गर्न नसकेकामा नेपाली टिमले आलोचना पनि ब्यहोर्नु परेको थियो । नेपाललाई भूटानी टिम भारी साबित हुन पुगी लिग खेल गोलरहित अवस्थामै टुंगिएको थियो । सो खेलमा नेपाली खेलाडीहरूले टिममा खेल नखेली व्यक्तिगत खेलेकाले गोलरहित खेल ब्यहोर्नु परेको स्वयम् नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले पत्रकारहरूलाई बताएका थिए ।

विगतको तुलनामा भूटानले खेलमा सुधार गर्दै गएको कुरामा कुनै शंका छैन तापनि नेपाल र भूटानबीचको खेलमा नेपाली खेलाडीहरू वास्तवमै स्वार्थी भएको देखिएको थियो । प्रशिक्षक तामाङ खेलाडीहरू स्वयम्ले गोल बन्ने गरेर नायक बन्ने होडमा लागेको स्पष्ट पारेका थिए ।

गोलको वर्षा
सातौँ महिला साफ च्याम्पियनसीपको लिग चरणमा नेपालले माल्दिभ्स विरुद्धको खेलमा गोलको वर्षा नै गरेको थियो । नेपालले माल्दिभ्सलाई शून्यका विरुद्ध ११ गोलले पराजित गरेको थियो । रेखा पौडेलले पाँच गोल, प्रिती राईले तीन गोल तथा सविता राना मगर, अमिशा कार्की र अनिता केसीले एक/एक गोल गरेका थिए । खेलाडी रेखा पौडेल युएईमा व्यावसायिक फुटबल खेलिरहेको अवस्थामा राष्ट्रिय टिमबाट आबद्ध हुन स्वदेश फर्की टिममा सामेल भएकी थिइन् ।

यसअघिका महिला साफ च्याम्पियनसिपका प्रतियोगिताहरूमा पनि नेपालले माल्दिभ्स, पाकिस्तान जस्ता देशलाई अत्यधिक गोल गरेको थियो । नेपालले लिग चरणमै श्रीलंकालाई शून्यका विरुद्ध छ गोलले हराएको थियो । यस खेलमा रेखा पौडेलले दुई गोल गरेकी थिइन् भने सविता राना मगर, सावित्रा भण्डारी, अमिशा कार्की र रश्मिकुमारी घिसिङले एक/क गोल गरी नेपालीलाई लिगको समूह विजेताका रूपमा सेमी फाइनलमा प्रवेश गराउन योगदान गरेका थिए ।

भोकै तयारी
यो प्रतियोगिताको सिलसिलामा आफू एक हप्ता रोएरै तनावमा बसेको नेपाली टिमकी अग्रपङ्क्तिकी खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ ले बताएकी छिन् । भूटान विरुद्धको खेल गोलरहित बराबरीमा टुंगिएपछि टिमकी स्कोकर सावित्राको अनुपस्थितिलाई पनि कारण मानिएको थियो । उनी फ्रान्समा स्थानीय क्लबका तर्फबाट फ्रान्सेली लिग खेल्न गएकी थिइन् । उनले त्यहाँ पनि गोल गरेकी थिइन् । उनी फ्रान्सदेखि नेपालमा साफ च्याम्पियनसिप खेल्न आएकी थिइन् । माल्दिभ्स विरुद्धको खेलको अघिल्लो राति मात्र उनी काठमाडौँ आइपुगेको अवस्थामा पनि उनलाई प्रशिक्षकले तयारी अवस्थामा राखेका थिए । दक्षिण एसियाकै उच्च कोटीकी स्कोरर मानिएकी साम्बाले सन् २०१६ को साफ च्याम्पियनसिपमा कूल १२ गोल गरेर प्रतियोगिताकै धेरै खेलाडी बन्न सफल भएकी थिइन् ।

फ्रान्सबाट स्वदेश फर्कने क्रममा विमानमा खानेकुरा नखाएर जुस मात्र पिएर आएको अवस्थामा पनि प्रशिक्षक तामाङले साम्बालाई खेलको उत्तरार्द्ध अवस्थामा मैदानमा उतार्ने लक्ष्यले बेन्चमा राखेका थिए । तर नेपालका तर्फबाट माल्दिभ्सविरुद्ध मध्यान्तरअघि नै चार गोल भइसकेपछि उनलाई मैदानमा उतार्ने अवस्था आएन । भारत विरुद्धको महत्त्वपूर्ण खेलमा ‘प्लेयर अफ द म्याच’को उपाधि सावित्रा भण्डारीले पाएकी थिइन् । उनले दर्शकहरूको अपार मायाका कारण नै नेपाली महिला फुटबल टिमले सफलता प्राप्त गरेको धारणा व्यक्त गरेकी छिन् ।

अब बुधबार बंगलादेश विरुद्धको फाइनलमा सावित्रासहितका नेपाली महिला फुटबल टिमसँग आबद्ध खेलाडीहरूले साफ च्याम्पियनसिप उपाधि पहिलो पटक मुलुकलाई दिलाउन अझ उत्कृष्ट योगदान दिने अपेक्षा नेपाली फुटबलप्रेमीहरुले गरेका छन् । गत छैटौँ महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग एक गोलका विरुद्ध तीन गोलले पराजय भोग्नु परेको पीडा नेपाली महिला खेलाडीहरूले भुलेका छैनन् । (लेखक खेल पत्रकार हुन् )

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर