रवि लामिछाने रिहाइका लागि यस्तो छ रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेको पक्राउको विरोधमा आन्दोलनका कार्यक्रमलाई जारी राख्ने भएको छ । रास्वपाले पार्टी सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर हिरासतमा राखिएको निष्कर्ष निकाल्दै सरकारसँग अविलम्ब रिहाइको लागि माग गर्ने निर्णय गरेको छ ।
आज (शनिबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले राजनीतिक प्रतिशोध त्यागेर सभापति लामिछानेलाई रिहाइ गर्न सरकारलाई माग गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।वैठकको पार्टी निर्णयमा भनिएको छ, ‘पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको रास्वपा माग गर्दछ ।’
पार्टी सभापति लामिछानेलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेर प्रहरीले कास्की हिरासतमा राखेको छ।सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेको पक्राउविरुद्ध आफूहरूको आन्दोलन जारी राख्ने निर्णय भएको झाले बताएका छन् । ‘राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने,’ निर्णयमा भनिएको छ ।
यस गरी पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने निर्णय गरिएको छ । अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित समितिले भने राजनीतिक नागरिक संवाद गर्ने रास्वपाको निर्णय छ । त्यस्तै, आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेस गर्न पनि निर्देशन बैठकले गरेको छ ।
प्रतिक्रिया