चीनसँगको सहयोग पत्रमा हस्ताक्षर भएपनि चक्रपथ विस्तार अझै सुरु भएन

चक्रपथ दोस्रो खण्ड विस्तारको चर्चा चलेको वर्षौं बितिसक्यो । तर कामले अझै गति लिन सकेको छैन । निर्माण कहिलेबाट सुरु हुने हो, निश्चित हुन सकेको छैन । नेपाल र चीन सरकारका प्रतिनिधिबीच चक्रपथ विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर गरेको दुई महिना बित्न लाग्दा पनि थप प्रक्रिया अघि बढ्न सकेको छैन ।

गत भदौ ६ मा नेपाल र चीन सरकारका प्रतिनिधिबीच विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो ।

त्यसो त पहिलो खण्ड निर्माणताका नै चीन सरकारको अनुदान सहयोगमा दोस्रो खण्ड विस्तार गर्ने तयारी थियो । कोटेश्वर–कलंकी पहिलो खण्डको काम ०६९ मा सुरु भई ०७५ सालमा सकिएको थियो । सुरुको अवस्थामा दोस्रो खण्ड विस्तारमा नेपाल सरकारले पूर्वतयारीको काम नगर्दा र पछि चीन सरकारका कारण थप काम अघि बढ्न सकेको थिएन ।

चीनको अनुदानमा दोस्रो खण्ड कलंकीदेखि वसुन्धरा कल्भर्टसम्म ८.२ किलोमिटर सडक विस्तार गर्न लागिएको हो । विस्तारमा सहयोग गर्नेबारे दुई देशका अधिकारीले हस्ताक्षर गरेको सुनेको भए पनि त्यसबारे आधिकारिक कागजात आइनसकेको काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाका प्रमुख कृष्णनाथ ओझाले बताए ।

‘सबै पूर्वतयारीको काम सकिइसकेको छ,’ ओझाले भने, ‘सर्भिस ट्र्याकलगायत काम गर्न निर्माण सामग्री अभावका कारण केही ढिलाइ भएको छ ।’ उक्त काम नेपाल सरकारको बजेटबाट भइरहेको उनले जनाए । चीनसँग सन् २०१८ मा यो सडक खण्ड विस्तारका लागि जीटूजी सम्झौता भएको थियो । चीन सरकारले पूर्वतयारीका काम नटुंग्याई आफूहरू नआउने अडान लिँदै आए पनि काम अघि बढ्न सकेको छैन । सहयोग गर्ने पत्रमा हस्ताक्षर भएको जानकारी भए पनि त्यसपछि थप अपडेट नभएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक विजय जैसीको भनाइ छ । ‘अर्थ मन्त्रालय र चिनियाँ उच्च अधिकारीको उपस्थितिमा हस्ताक्षर भएको हो,’ उनले भने, ‘त्यसपछि थप केही अपडेट भएको जानकारी छैन, अब धेरै ढिला नहोला ।’ यसबारे के भइरहेको छ भन्नेबारे चिनियाँ अधिकारीहरूसँग जानकारी लिने उनको भनाइ छ । कोटेश्वरदेखि कलंकीसम्म १०.३९ किमि सडक बनाउन ६ वर्ष लागेको थियो ।

कलंकीदेखि वसुन्धरासम्म जथाभावी भत्काइएको सडकले ट्राफिक जाम बढेको छ । सवारीसाधन गुड्ने मुख्य सडक साँघुरिएको छ । पानी पर्दा हिलो र घाम लाग्दा उड्ने धुलोले स्थानीयलाई सास्ती थपेको छ । सडकले गर्दा यो क्षेत्रको व्यापार व्यवसाय समेत चौपट बनेको स्थानीयको गुनासो छ । सरकारलाई दबाब दिन गत असार १५ मा सांसद (हाल स्वास्थ्य तथा जनसंख्यामन्त्री) प्रदीप पौडेल नेतृत्वको टोलीले कलंकीदेखि चाबहिलसम्म करिब १२ किलोमिटर सामूहिक पैदल यात्रा गरेको थियो । त्यसरी दबाब दिने निकाय अहिले चुपचाप रहेको स्थानीयको आरोप छ ।कान्तिपूर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *