विपद् प्रतिकार्यमा सबैको सहयोग र योगदान आवश्यक : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् प्रतिकार्य कुनै एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव नहुने भएकाले सरोकारवाला सबैको सक्रिय सहभागिता तथा योगदान आवश्यक रहेको बताएका छन्।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारस्थित पृथ्वी हाईवे ट्रमा सेन्टरमा नागढुंगा–मुग्लिन सडक खण्डमा अवस्थित अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी संचालन गरिएको ‘बेसिक लाइफ सपोर्ट एण्ड प्राइमरी ट्रमा केयर’ तालिम समापन कार्यक्रममा उनले सबैको सहकार्यमा जोड दिएका हुन्।
विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालले राज्यको उपस्थितिलाई सुनिश्चित गर्दै जनताको भरोसाको केन्द्रमा आफुलाई उभ्याउन सफल भएको अर्यालले बताए। विपद् प्रतिकार्य तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुले भुकम्प, बाढि पहिरो, सवारी दुर्घटनालगायतका विपद् जोखिममा परेका हजारौं नागरिकहरुको जीवन रक्षा गरेको उनले उल्लेख गरे।
‘पोष्ट क्रास रेस्पन्स एण्ड केयर’अन्तर्गत पाईलट प्रोजेक्टको रुपमा नागढुंङ्गा–नौविसे–मुग्लिङ्ग सडक खण्डमा हुने दुर्घटनाका घाईतेहरुलाई तत्काल उद्धार तथा उपचार सेवा प्रदान गरी जीवन रक्षा गर्ने उद्देश्यले तामिल दिइएको हो। भौतिक योजना तथा यातायात मन्त्रालय अन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच माघ २५ भएको सम्झौताअनुसार सो तालिम भएको हो। सम्झौताअनुसार कमाण्ड सेन्टरको स्थापना लगायतको कामको तयारी भइरहेको महानिरीक्षक अर्यालले बताए।
ठाउँ विशेष हेरी नेपालका सबै स्थानहरुमा भोलिन्टियरहरु उत्पादन गरी आम नागरिकहरुमा जनचेतना फैलाउने उद्देश्यका साथ औपचारिक रुपमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गत भाद्र १६ गतेदेखि स्वयमसेवक उद्धारक डिजास्टर रेस्पोन्स तालिमहरु संचालन गरिएको तथा देशका विभिन्न स्थानहरुमा हालसम्म ५ सय ८८ जना भोलिन्टियरहरुलाई तालिम दिईसकेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रतिक्रिया