एक करोड १४ लाख भन्दा बढीको लत्ताकपडा र औषधि बरामद
७ कार्तिक २०८१ १७:३८
अवैध रुपमा कास्की ल्याउँदै गरेको १ करोड १४ लाख ५१ हजार ८३३ रुपैयाँ बराबरको लत्ताकपडा तथा औषधि पर्सा प्रहरीले वीरगञ्जबाट बरामद गरेको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ स्थित घण्टाघरचोकबाट ना ३ ख ५१८७ नम्बरको मालबाहक ट्रकमा लोड गरिराखेको अवस्थामा उक्त सामान बरामद गरेको हो।
प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार, ट्रकमा लोड भएको लत्ताकपडा तथा औषधिहरु कास्कीतर्फ लैजाँदै गरेको अवस्थामा बरामद भएको हो। बरामद भएको सामान थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको भारतीले बताए।
प्रतिक्रिया