छविलाल जोशीको बयान सकियो, बुधबार कास्की पठाइने

बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसँगको बयान सकिएको छ। उनीसँग सोमबार र मङ्गलबार गरी १३ घण्टा बयान लिइएको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धानका क्रममा पोखरा प्रहरी हिरासतमा रहेका जोशीलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले सोमबार बुटवल ल्याएको थियो।

सोमबार ५ र मङ्गलबार ८ गरी १३ घण्टा जोशीसँग बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए। ‘उहाँको बयान सकिएको छ, हामीले अनुसन्धानका क्रममा ५७ वटा प्रश्न सोधेका थियौँ,’ उनले भने, ‘अब उहाँबाट प्राप्त उत्तरलाई अनुसन्धान प्रतिवेदनमा समावेश गर्ने छौँ।’

बुटवलको सुप्रिम सहकारीबाट जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ गएको देखिएको छ। त्यस्तै गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेका नाममा २ करोड रकम गएको अनुसन्धानमा देखिएको छ।

जोशी, लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम ट्रान्सफर भएको छ। प्रहरीले यसअघि गरेको छानबिनमा जोशी, राई, सुप्रिमका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। तीमध्ये गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा छुटेका छन्। पूर्वअध्यक्ष राईसहित अन्य व्यक्ति फरार छन्।

रूपन्देही जिल्ला प्रहरी प्रमुख रञ्जित सिंह राठोरले जोशीको बयान सकिएको र बुधबार पोखरा पठाइने बताए। ‘उहाँको बयानका सबै काम सकिएको छ, अब भोलि पोखरा नै पठाउँछौ,’ उनले भने, ‘आज जिल्ला प्रहरी कार्यालय भैरहवामै राख्छौं।’

जोशीलाई सोमबार दिउँसो जहाजमार्फत पोखराबाट बुटवल ल्याइएको र स्वास्थ्य समस्याका कारण बुधबार पनि जहाजबाट नै पोखरा पठाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर