सूर्यदर्शन सहकारीमा योजनाबद्ध ठगी
पोखराको नालामुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीको कार्यालयमा अहिले ताला लागेको छ। २०६३ मा खुलेको यो सहकारीका गतिविधि र छानबिन प्रतिवेदनहरूले स्थापनादेखि नै यसका सञ्चालकहरूले योजनाबद्ध ढंगले ठगी गरेको पुष्टि गर्छन्।
अहिले पुर्पक्षका लागि बागलुङ जिल्ला कारागारमा रहेका देवबहादुर नेपालीसमेत दोस्रो कार्यकालमा सूर्यदर्शनको उपाध्यक्ष थिए। नेपालीले सूर्यदर्शनको नेतृत्व नपाएपछि आफ्नै अग्रसरतामा पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी स्थापना गरेका थिए।
चार वर्षपछि ओखलढुङ्गाका गीतेन्द्रबाबु (जीबी) राईको सूर्यदर्शनमा प्रवेश भयो। पछि सहकारीमा रामेछापका कैलाशकुमार दर्लामी र पूर्वउपराष्ट्रपतिका छोरा दिपेशकुमार पुन जोडिएको देखिन्छ। पोखरा महानगर मात्र कार्यक्षेत्र भएको सहकारी खोली कास्कीबाहिरका पदाधिकारी राखिनु ठगीकै अर्को कडी हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्मा सूर्यदर्शनमा ठगीका अनेक रूप रहेको र विभिन्न कोणबाट अनुसन्धान भएको बताउँछन्। यो सहकारी ठगी प्रकरणका अनुसन्धान अधिकारीसमेत रहेका शर्माले पूरक जाहेरीसमेत चाँडै पेश गर्ने तयारी गरेको बताए।
आफ्नो जिम्मामा आएपछि जीबीले रकम जम्मा गर्न र दुरुपयोग गर्न अनेक तरिका प्रयोग गरेको देखिन्छ। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका(१ को साँदी गाउँको सामान्य किसान परिवारका जीबीको पछिल्लो समय पोखरादेखि काठमाडौंसमेत हेलिकोप्टरमा आउजाउ हुन्थ्यो।
शुक्रबार जिल्ला अदालत कास्कीले रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्यो। अहिले जीबीका दुई दाइ देवेन्द्रबाबु र अनन्तबाबु र साढुदाइ दीपक लामाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। जीबीले परिवार, आफन्त मात्र नभएर पे्रमिकाको नामबाट समेत सहकारीको रकम अपचलन गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
जीबी ग्रुप एण्ड कम्पनीकी कर्मचारी लीला पछाईका नाममा पोखरा महानगरमा दुई वटा घर देखिएका छन्। पछाईको खातामा रकम गएको र घर किनिएको देखिएपछि कास्की प्रहरीले उहाँलाई पनि पक्राउ गरेको छ।
जीबीले योजनाबद्ध ठगीलाई अघि बढाउन राजनीतिक पहुँचसमेत प्रयोग गरेको देखिन्छ। सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का वडाध्यक्ष छन्। दर्लामी नेकपा माओवादी केन्द्रका पालिका अध्यक्षसमेत थिए। सूर्यदर्शनले २० प्रतिशतसम्म ब्याज दिने प्रलोभन दिएर रकम संकलन गरेको थियो।
यही प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका शिवबहादुर गुरुङ नेकपा एमाले को युवा संघका केन्द्रीय उपमहासचिव हुन्। सुरुवातमा नेटवर्किङ व्यवसायमा आबद्ध जीबीको परिवार यो व्यवसायमा प्रतिबन्ध लागेपछि देशैभर सहकारी खोली रकम ठगी गर्न योजनाबद्ध रूपमा लागेको देखिन्छ।
सूर्यदर्शनसहित देशैभर जीबी र उनको समूहले छ वटा सहकारी सञ्चालन गरी अर्बौ हिनामिना गरेको देखिएको छ। ती सहकारीबाट उनले चलाएका जीबी ग्रुप अफ कम्पनी, गोर्खा ग्रुप अफ कम्पनी लि।, नेचर हब्र्स प्रालि, नेचर नेस्ट प्रालि, हर्बो इन्टरनेसनल प्रालि, गोर्खा आयुर्वेद प्रालि, गुप्ती टी इस्टेट प्रालि, गोरखा मिडिया नेटवर्क प्रालिलगायतका संस्थामा गैरकानूनीरूपमा रकम पठाइएको पाइएको छ।
सहकारी स्थापनापछि यो समूहले मिडियासमेत सञ्चालन गर्न थाल्यो। गोरखा मिडिया प्रालिले सुरुवातमा नागरिक खबर डटकम अनलाइन सञ्चालन गरेको थियो। त्यसमा पनि सूर्यदर्शनसहितका सहकारीहरूकै पैसा लगानी भएको संसदीय छानबिन समितिले उल्लेख गरेको छ। जीबी रवि लामिछानेसँग सहकार्यमा पुगेपछि ग्यालेक्सी फोरके टेलिभिजन खुलेको थियो। गोरखा मिडियाका प्रबन्ध निर्देशक लामिछाने गएको आमचुनावभन्दा नौ महिनाअघि टेलिभिजन छाडी राजनीतिमा प्रवेश गरेका हुन्।
योजनाबद्ध ठगीलाई बलियो बनाउन यो समूहमा नेपाल प्रहरीका पूर्वउच्चपदस्थ अधिकारीलाई पनि राखिएको थियो। पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशी गोरखा मिडियाका सञ्चालक थिए। उनीपनि अहिले कास्की प्रहरीको हिरासतमा छन्। केही महिनाअघि कास्की प्रहरीले जोशीकै घरमा छापा मारी सूर्यदर्शन सहकारी र टेलिभिजनका कागजात र अन्य महत्त्वपूर्ण सामग्री नियन्त्रणमा लिएको थियो।
सूर्यदर्शन ठगीमा अहिलेसम्म ६० जनालाई प्रतिवादी बनाइएकोमा नौ जना मात्र पक्राउ परेका छन्। पक्राउ परेकामध्ये अहिले तीन जना हिरासतमा छन् भने छ जना पुर्पक्षका लागि थुनामा छन्।यो समाचार गोरखापत्र दैनिकमा छ
प्रतिक्रिया