पोखरामा रास्वपा र सहकारी पीडित दुबैको प्रदर्शनकाे तयारी

पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा  प्रदर्शनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज (आइतबार) पनि विरोधका कार्यक्रम जारी राख्ने भएको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले नियोजित रुपमा सरकारले आफ्ना सभापतिलाई  पक्राउ गरेकाले विरोधका कार्यक्रम जारी राखिएको बताएका छन्  । उनका अनुसार पोखराको शहीद चोकमा विरोधको कार्यक्रम राखिएको छ ।

यसका लागि रास्वपाका शीर्ष नेताहरु यसअघि नै पोखरा पुगिसकेका छन् । यसैबीच,पोखरामा सहकारी पीडित र रास्वपाका नेताकार्यकर्ता आमने–सामने हुनसक्ने भन्दै प्रशासनले  सुरक्षा व्यवस्था कडा पारेको छ । रविलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले दबावका लागि उपस्थित हुन आह्वान गरेका छन् । रास्वपाका अधिकांश शीर्ष नेताहरु पोखरा पुगेर शनिबारदेखि नै प्रदर्शन तथा दबाव कार्यक्रम गरिरहेका छन् ।

रास्वपाका नेताहरुले रविलाई उपस्थित गराउने कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रममा उपस्थित भइदिनका लागि आह्वान गरेका छन् भने सहकारी पीडितहरुले पनि अनुसन्धान र न्यायका निम्ति दबाब दिन भन्दै सम्पूर्ण पीडितलाई राष्ट्र बैंक चोकमा उपस्थित हुन सार्वजनिक अपिल गरेका छन् । सहकारी पीडितका पक्षमा उपस्थित हुन कांग्रेस, एमालेका नेताहरुलेसमेत सर्वसाधारणलाई दबाब सभामा आउन आह्वान गरिरहेका छन् । दुवै समूहले आफ्नो पक्षमा माहौल बनाउन शक्ति प्रदर्शनको तयारी गरेपछि  प्रशासनले पोखरामा सुरक्षा व्यवस्थालाई मजबुत बनाएको छ ।

पोखराका सहकारी पीडितले अहिले ११ बजेपछि पोखराको मुस्ताङ चोकमा विरोध प्रदर्शन गर्न लागेका हुन् । बचत फिर्ताको माग गर्दै प्रदर्शन गर्न लागेको कास्की सहकारी बचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले बताए । पोखरेली बचतकर्तालाई पर्चा पम्प्लेटसहित उपस्थित हुन आह्वान गरेको उनको भनाइ छ । शनिबार पनि पीडित बचतकर्ताले विरोध प्रदर्शन गर्ने तय भएको थियो । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विरोध कार्यक्रम गर्ने भएकाले मुठभेडको अवस्था निम्तन सक्ने भएकाले प्रहरी प्रशासनले कार्यक्रम नगर्न भनेपछि पछि हटेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर