वर्तमान सरकार ढल्ने सम्भावना छैन : शेखर कोइराला

सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस–एमाले गठबन्धनको सरकारले ढल्ने सम्भावना नभएको बताएका छन् । मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशनलाई आज (शनिबार) सम्बोधन गर्दै नेता कोइरालाले तत्कालै सरकार ढल्ने सम्भावना नरहेको दावी गरेका हुन् । उनले आगामी निर्वाचनसम्म यो सरकार रहने दाबी पनि गरे ।

वर्तमान गठबन्धन सरकार राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको डा. कोइरालाको भनाइ थियो  । सरकार ढल्ने सम्भावना नभए पनि सरकारको काम चित्तबुझ्दो नभएको कोइरालाले बताएका छन् । उनले सरकारले उद्देश्य अनुरूप कार्य भने गर्न नसकेको टिप्पणी गरे ।

‘यो सरकार ढल्दैन, चल्छ । तर सरकार, सरकार जस्तो भएर चल्नु पर्दछ,’ कोइरालाले भने, जनतालाई सरकार भएको अनुभूति दिनु पर्दछ ।’ उनले नेपाली जनताले सुशासन, आर्थिक विकास खोजेको बताए । सरकार परिवर्तन हुँदा पनि सुशासनमा कुनै सुधार नभएको भन्दै नेता कोइरालाले सुशासन बिना आर्थिक विकास सम्भव नभएको स्पष्ट पारे । कोइरालाले कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने भन्दै अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *