विपद् जोखिम न्युनिकरणका लागि राजनीतिक प्रतिवद्धता आवश्यक : निर्देशक अधिकारी

विपद् जोखिम न्यूनीकरणका लागि राजनीतिक प्रतिबद्धता आवश्यक भएको विज्ञहरूले बताएका छन् ।

असोज २८ देखि फिलिपिन्सको मनिलामा सुरु भएको विपद् जोखिम न्यूनीकरण सम्बन्धी एसिया प्रशान्त क्षेत्रका मन्त्रीस्तरीय सम्मेलनमा विज्ञहरूले सो धारणा राखेका हुन् । बैठकमा विपद् जोखिम न्यूनीकरणमा वित्तीय व्यवस्थापनको मुद्दालाई पहिलो प्राथमिकता दिइएको छ । विपद् जोखिम न्यूनीकरण सम्बन्धी एसिया प्रशान्त क्षेत्रका मन्त्रीस्तरीय सम्मेलनमा नेपालको तर्फबाट सहभागी बनेका विपद् व्यवस्थापन अध्ययन केन्द्रका निर्देशक डा. वसन्तराज अधिकारीले विपद् जोखिम न्यूनीकरणमा वित्तीय श्रोत जुटाउने विषय प्रमुख प्राथमिकतामा परेको बताएका हुन् ।

मनिलामा बोल्दै उनले बैठकमा मुख्य तीन विषयमा छलफल जारी रहेको जानकारी दिए । जसमा वित्तीय व्यवस्थापन, समाजमा रहेका सीमान्तकृत र विभिन्न समुदायका सबै मानिसलाई सँगै लगेर विपद् जोखिम न्यूनीकरण गर्ने र सहर र गाउँको संकटासन्न अवस्थालाई उत्थानशील बनाउने विषय प्रमुख रहेका छन् । निर्देशक अधिकारीले बैठक यिनै तीन कुराहरूमा अधिकांश देशका प्रतिनिधिहरूले आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्नुभएको र नेपालले सोही विषयवस्तुलाई टेकेर कार्यपत्र प्रस्तुत गरेको बताए ।

उनका अनुसार जारी बैठकमा नेपालको उपस्थिति राम्रो रहेको छ । नेपालमा विपद् जोखिम न्यूनीकरणमा धेरै समस्या रहेको भन्दै तथ्यांकीय र वैज्ञानिक विश्लेषण गरी आगामी बैठकहरूमा विषयवस्तुहरू उठाउन सक्नुपर्ने उल्लेख गरे । मित्रराष्ट्रहरूसँग छलफल र सहकार्य गरी विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम अघि बढाउन उचित हुने सुझाव निर्देशक डा। अधिकारीको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले समेत नेपालको नाम तोकेर नेपाल जस्ता हिमाली देशहरूमा हुने बाढी पहिरोको कुरालाई उद्घाटन सत्रमा आवाज उठाएको बताए । नेपालले नेपालजस्तै विपद्बाट संकट व्यहोरिरहेका देशहरूले गरेका सफल पहलकदमीहरू नेपालले लागू गर्नुपर्ने बताए ।

उनले भने ‘यो एसिया प्रशान्त क्षेत्रीय मन्त्रीस्तरीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको बैठक हो । यो अहिले फिलिपिन्सको मनिलामा भइरहेको छ । यो वर्ष सामान्यतया तीन कुरामा केन्द्रित भएका छौँ । एउटा विपद् जोखिम न्यूनीकरणमा वित्तीय व्यवस्थापन, वित्तीय श्रोत जुटाउने बारेमा छ । कसैलाई पनि नछोडीकन समाजमा रहेका सीमान्तकृत र विभिन्न समुदायका मानिसलाई सँगै लिएर त्यसको विपद् जोखिम न्यूनीकरण गर्ने र अर्को सहर र गाउँको संकटासन्न छ, त्यसको उत्थानशीलतामा कसरी अघि बढ्ने भन्ने तीन वटा मुख्य कुरा छन् । यसमै विभिन्न कार्यपत्रहरू प्रस्तुत भइरहेका छन् र विभिन्न छलफल भइरहेका छन् । नेपाल सरकारले यसपालि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यकारी निर्देशकले रिप्रेजिन्टभ गर्नुभयो । आफ्नो एजेन्डाहरू नेपालले सशक्त रूपले राखेका छौँ । नेपालमा भइरहेका समस्या, जलवायु परिवर्तन र विपद्मा कसरी हामीले जिउधनको नोक्सानी व्यहोरिरहेका छौँ, आगामी योजनाका बारेमा प्रस्तुत गरेका छौँ । नेपालको सहभागिता यसपालि उच्च नै छ । विपद् जोखिम न्यूनीकरणमा नेपालका समस्या धेरै छन् । अझै पनि हामीले तथ्यांकीय विश्लेषण गरेर, वैज्ञानिक विश्लेषण गरेर त्यसको आधारमा राष्ट्रको अगाडि प्रस्तुत गर्न अझै पनि हामीले धेरै गृहकार्य गर्नुपर्ने देखिन्छ । सुरुमा फिलिपिन्सको राष्ट्रपतिले पनि नेपाल जस्ता हिमाली देशहरूमा हुने बाढी पहिरोको कुरालाई मेन्सन गर्नुभएको छ । नेपालको सशक्त उपस्थितिका लागि अझै गृहकार्य गर्नुपर्ने छ । विपद् जोखिम न्यूनीकरण गर्नको लागि राष्ट्रिय राजनीतिक प्रतिबद्धता हुनुपर्छ । हाम्रा नीति नियमहरू वैज्ञानिक आधारमा हुनुपर्छ । विभिन्न मित्रराष्ट्रहरूसँग छलफल र सहकार्य गरी कार्यक्रम अघि बढाउनु पर्छ । हामीजस्तै संकटासन्न राष्ट्रहरूले गरेका प्रयासहरू हामीले सिक्नुपर्छ ।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पनि सम्मेलनमा सहभागी भएको छ । हरेक २ वर्षमा हुने यो सम्मेलन आज सकिँदै छ । सम्मेलनमा नेपालको तर्फबाट प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले नेपालको स्थितिपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर