माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

सुनसरीको इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुर्ख्यौली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताए ।

उनले भने, ‘हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि बनाउँदै यही काम गर्दै आउनुभएको हो । पुर्ख्यौली पेसा हो अहिले पनि यही भाडाँकुडा बनाएरै घरखर्च पुगेको छ । आम्दानीको स्रोत नै यही हो ।’

उनको इनरुवामा माटोको भाँडा बनाउने आरन छ, त्यहाँ बनाएका भाडाँकुडा इटहरी लगेर बेच्ने गरिएको छ । धेरै व्यापारीले आरनमै आएर खरिद गरी लिने गरेको पनि उनले बताए । यसरी बनाउने भाँडाका लागि आवश्यक माटो भने विराटनगरको बर्जुताल क्षेत्रबाट ल्याउने गरेको पण्डितले जानकारी दिए ।

उनले भने, ‘जस्तो पायो त्यस्तो माटोले भाँडा बन्दैन, नजिकै राम्रो माटो पाउन गाह्रो छ । एक ट्रयाक्टर माटो १२ हजारदेखि १८ हजारसम्ममा ल्याउने गरेका छौँ, एक गाडी माटोले १ लाख ५० हजार मूल्य बराबर माटोका सामान बनाउन सकिन्छ । घरमा सबै खर्च कटाएर पनि ८० हजारभन्दा बढी मासिक आम्दानी हुने गरेको छ ।’

पण्डितले माटोको सामान उत्पादन गर्न सकेमा बिक्रीका लागि बजारको समस्या खासै नरहेको बताए । पूर्वको झापा, मोरङ, पाँचथर, इलाम, खादबारी, फिदिम, धनकुटादेखि भोजपुरसम्म मागअनुसार गाडीमार्फत माटोका भाँडा पठाउने गरेको उनले बताए । 

पण्डितले रक्सी बनाउने पैनि, गमला, गाग्रो, पाला, कलश, दियो, फूलदानी, दही जमाउने भाँडा, फिल्टर, खुतुर्के, गिलासलगायत सामान बनाउने गरेकाले सामान बिक्री हुँदैन कि भनेर कहिल्यै चिन्ता गर्नु नपरेको सुनाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर