साफमा यसपल्ट च्याम्पियन बन्छौं : कप्तान एञ्जिला

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले आफ्नो टोली सन्तुलित र बलियो रहेकाले साफ च्याम्पियनसिपमा च्याम्पियन बन्ने लक्ष्य रहेको बताएकी छन्।

नेपालले तेस्रोपल्ट महिला साफ च्याम्पियनसिपको आयोजना गर्दैछ। बिहीबारदेखि घरेलु मैदानमा हुने साफ च्याम्पियनसिपमा नेपाली टोलीकी कप्तान तथा गोलकिपर कप्तान च्याम्पियन हुने लक्ष्य रहेको बताएकी हुन्।

उनले सबै टोली मेहनत गरेर च्याम्पियन बन्नकै लागि आएपनि यसपल्ट आफ्नो टोली सन्तुलित र बलियो रहेको विश्वास व्यक्त गरिन्। कप्तान एञ्जिला यसपल्ट आफ्नो टोलीको मेहनत खेर नजानेमा आशावादी देखिएकी छन्। च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीबार भारत र पाकिस्तान भिँड्दैछन्।

आयोजक नेपालले भने शुक्रबार भूटानसँग खेल्दै साफ च्याम्पियनसिपको शुरुवात गर्दैछ।  कप्तान एन्जिलाले पहिलो लक्ष्य समूहचरणका खेलमा राम्रो गर्नु रहेको बताइन्। साफको तयारीका लागि समय छोटो भए पनि घरेलु लिगले मद्दत पुग्ने उनको विश्वास छ।

डिफेन्समा समस्या हुँदा गोलकिपरले महत्वपूर्ण भुमिका खेल्नुपर्ने र यसमा राम्रो गर्नसके टोलीमा सुधार आउने उनको भनाइ छ। कप्तान एन्जिलाले अन्तर्राष्ट्रिय एक्सपोजर नभए पनि प्राप्त अवसरबाट उत्कृष्ट नतिजा निकाल्ने उद्देश्यअनुरूप खेल्नुपर्ने औंल्याइन्।

केही समयअगाडि मात्र एन्फा महिला लिगको पहिलो चरण पूरा भएको थियो। सोही लिगको प्रदर्शनका आधारमा एन्फाले ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो।

त्यहाँबाट राष्ट्रिय टोली निर्माण गरिएको हो। नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु लिग सञ्चालन भएकाले दुई हप्ता मात्रै तयारी गरेको र योजनाअनुरूप तयारी गर्ने समय नमिलेको बताए।

फिजिकल स्ट्रेन्थ र इन्डुरेन्समा काम गर्न नपाएको उनको भनाइ छ। प्रशिक्षक तामाङले यसबीच केही स्ट्राइकरहरू पनि विदेशमा रहेकाले टिममा एकसाथ प्रशिक्षण गर्ने अवसर नमिले पनि प्रतियोगिताका लागि आफ्नो टोली तयार रहेको सुनाए।

पाँच पटक साफको फाइनल खेले पनि उपाधिमा चुक्नुको मुख्य कारण डिफेन्समा कमजोरी रहेको उनको बुझाइ छ। यसको सुधारका लागि खेलाडीहरू पनि थप सजक हुनुपर्ने उनी बताउछन्। तथापि, यसपल्ट डिफेन्समा सुधार भएको उनको विश्वास छ।

नेपालको समूहमा रहेको भूटानले फुटबलमा धेरै लगानी गरिरहेको र त्यहीअनुरूप प्रदर्शन पनि गरेकाले सहज प्रतिद्वन्दी नहुने उनको भनाइ छ।

सबै टोली बलियो रहे पनि आफ्नो टोलीका खेलाडी त्यो चुनौती सामना गर्न तयार रहेको प्रशिक्षक तामाङ बताउँछन्। आफ्ना दुई स्ट्राइकरमध्ये रेखाले एकदिन मात्र टोलीसँगै प्रशिक्षण गर्न पाउने भए पनि अर्की स्ट्राइकर सावित्रा भण्डारीले एक खेलपछि मात्र खेल्ने भएकाले तालमेल अभाव हुने उनको बुझाइ छ। तर सावित्राको क्षमताप्रति कुनै शंका नरहेको उनले सुनाए।

महिला साफ च्याम्पियनसिपको सफल टोली भारत हो। भारतले पाँचपटक उपाधि उचाल्दा गत संस्करण मात्र बंगलादेशले जितेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर