दशैं मनाउन उपत्यकाबाट बाहिरिएका १२ लाखमध्ये चार लाख भित्रिए
दसैँ मनाउन उपत्यकाबाट बाहिरिएकाहरू फर्किने क्रम बढेको छ । उपत्यका प्रवेश गर्ने नाकामा यात्रुको चाप बढेको छ ।
भक्तपुरको जगाती, काठमाडौंको बल्खु, नागढुंगा र माछापोखरीलगायत नाकाबाट यात्रु उपत्यका भित्रिने क्रम बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दसैँको टीकाको दिन शनिबारदेखि मंगलबारसम्म चार लाख यात्रु उपत्यका भित्रिसकेका छन् । यीमध्ये तीन लाख यात्रु बस र मिनीबसबाट भित्रिएका थिए भने अन्य यात्रु हवाईजहाज, भ्यान, कार, ट्रकलगायत सवारीसाधनबाट भित्रिएका हुन् ।
प्रहरीका अनुसार विजयादशमीको दिनयता हवाईमार्गबाट करिब १० हजार यात्रु उपत्यकामा भित्रिएका छन् । यसपटक दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको संख्या करिब १२ लाख थियो । सडकको असहज अवस्थाका कारण विगतमा भन्दा यसपटक उपत्यका छाड्नेको संख्या कम छ ।
विगतका वर्षमा करिब १५–१६ लाख मानिस दसैँमा घर फर्कने गरेको प्रहरीको आँकडा छ । तर, यसपटक अस्तव्यस्त सडक र महँगो हवाई भाडाका कारण उपत्यका छाड्ने यात्रुको संख्यामा कमी देखिएको थियो । ‘दसैँ सकिएपछि उपत्यका भित्रिने यात्रुको चाप धेरै छ, बाहिरिएकामध्ये अझै धेरै यात्रु आउन बाँकी छ, कतिपय तिहारपछि पनि आउँछन्,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख बोहराले भने, ‘दैनिक सबैजसो सवारीसाधनमा गरी ५०–६० हजार हाराहारी यात्रु आइरहेका छन् ।’
प्रतिक्रिया