नेपाल प्रहरी र सशस्त्रको काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा, यस्तो छ रुट

नेपाल प्रहरीले बडादशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गरेको छ । प्रहरीले दशैंको अवसरमा नागरिकहरुको सहज आवातजावतका लागि आज (दशैंको टीकाको दिन) काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने हुँदा सर्वसाधारणलाई आवतजावतमा सुविधाका लागि हिजो शुक्रवारदेखी आजसम्म (दुई दिन) नेपाल प्रहरीले दुई वटा बस निःशुल्क सञ्चालन गरिरहेको छ ।

काठमाडौं उपत्यकाभित्र रुट नम्बर एकवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्साल फिर्ता हुने नेपाल प्रहरीले जनाएको छ । त्यस्तै रुट नम्बर २ वाला बस नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आउनेछ ।

यस्तै दसैँको अवसरमा यात्रुहरुको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले काठमाडौँको रिङरोडमा २ वटा बस निःशुल्क रुपमा सञ्चालन गरेको छ । सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार निःशुल्क बस आज बिहान ६ बजेबाट सञ्चालन गरिएको हो। उनले आज र भोलि बस निःशुल्क सञ्चालन हुने बताए ।

एउटा बस प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला , महाराजगन्ज, बालाजु रुटमा संचालन गरिएको छ भने अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज,गौशाला , कोटेश्वर , सातदोबाटो, कलंकी रुटमा संचालन गरिएको छ । चाडपर्वको समयमा सार्वजनिक गाडी कम गुड्ने भएकोले सर्वसाधारणको सुविधाको लागि बस सञ्चालन गरिएको हो। बडादसैँको अवसरमा यस अघिका वर्षमा पनि काठमाडौँमा सशस्त्र प्रहरी बलले  निशुल्क बस सेवा सञ्चालन गरेको थियो ।

यसै गरी विगत वर्षहरू जस्तै यस वर्ष पनि सर्वसाधारणका लागि सशस्त्र प्रहरी बलले देश भरी स्थानीय निकायसँगको समन्वय समेतमा १ सय ९७ वटा लिङ्गेपिङ राखेको छ । विगत करिब १४ वर्ष देखि पिङ राख्ने कार्यलाई यो वर्ष पनि निरन्तरता दिइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर