मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’
‘की मोबाइल खेल्न दिनु, नभए घुमाउन लैजानु’ भनेर छोराले दुई सर्त राखेपछि पुतली सडककी जेनी बुढाथोकीले घुमाउन ठिक ठानीन्। मोबाइल माग्दै रोइरहेको छोरालाई लिएर उनी नजिकैको भृकुटिमण्डपस्थित काठमाडौं ‘फन पार्क’ पुगीन्।
फन पार्ककमा थुप्रै खेलौँनासँग खेल्दा खेल्दै छोराले मोबाइल बिर्सिएपछि बुढाथोकी भन्छिन्, ‘मोबाइल हेर्नुभन्दा त फन पार्कमा खेलाउनु नै ठिक नि।’ दसैँतिहार पर्वको अवसरमा सबै विद्यालय बन्द छन्। बालबालिका स्कुल बिदा भएकाले घरमै बस्न बाध्य छन्। बालबालिकालाई भुलाउने र खेलाउने थलो खोज्दै अभिभावकले फन पार्क रोजेका छन्।
डिल्लीबजारकी लक्ष्मी श्रेष्ठ अचेल नातिनातिनिलाई घुमाउन फन पार्क र बाल उद्यान पुग्छिन्। दसैँतिहार पर्वमा एक महिनाको स्कुल बिदा भएकाले दिनभरी बालबालिकालाई खेलाउन उनलाई बाल उद्यान खोज्नु परेको हो।
कोठामा राख्दा राख्दै केटाकेटीले खाली मोबाइल र टेलिभिजनमा झुम्मिने बानीदेखि जोगाउन उहाँले पनि फन पार्क घुमाउन आउने गरेको बताइन्। भृकुटिमण्डपस्थित फन पार्कमा नातिनातिलाई खेलाउँदै गरेकी श्रेष्ठले खुला चौर र प्रशस्त खेल्ने स्थानको अभाव भएको हुँदा बालबालिकालाई फन पार्क ल्याउनु परेको सुनाइन्।
‘घर वरिपरि खेल्ने न आँगन ठूलो छ न चौर नै’, उनले भनिन्, ‘कोठामा थुनिरहनुभन्दा फन पार्क घुमाउन आउँछु।’
शान्तिनगरकी भगवती महर्जनलाई सात वर्षे छोराको मानसिक र शारीरिक विकासमा निकै चासो छ। स्कुल बिदाको समयमा उनी जति सक्दो धेरै छोरासँग खेल्न र खेलाउन रुचाउँछिन्। ‘फन पार्कमा आउँदा म पनि बच्चा जस्तै हुन्छु’, उनले भने,’पर्वको बेला परिवार र छोराछोरीलाई भरपुर समय दिने मन हुन्छ।’
महर्जनले भने जस्तै, बानेश्वरका संजोग जैशीले जागिरको व्यस्तता छिचोल्दै १० वर्षको छोरी लिएर फन पार्कमा रमाउन आएको बताए। स्कुल हुँदा छोरी र बुबाको भेटघाट नै मुस्किलले हुने गर्ने बताउँदै उनले छुट्टीमा सकभर छोरीलाई खेलाउने योजना रहेको बताए।
‘बिहानै स्कुल पुग्ने छोरी बेलुका कामबाट फर्किँदा निदाइसकेकी हुन्छिन्’, उनले भने, ‘स्कुल बिदा भएपछि खुसीले फुर्किएकी छोरी घुमाउने अभिभावकको जिम्मेवारी महसुस भएको छ।’ जैशीले छोरीलाई खानपिन र किनमेलमा भन्दा पनि धेरैभन्दा फन पार्कमा खेलाउन उपयुक्त हुने बताए। फन पार्कमा खेल्दा बाहिरी मौसम नियाल्दै थुप्रै जीवन उपयोगी ज्ञान आर्जन गर्न सकिने उनको बुझाइ छ।
यस्तै बागबजारकी सम्झना कार्कीको अहिले पूरै समय दुई छोराकै लागि छुट्याइन्। चाडपर्वमा एक महिना स्कुलले बिदा दिएपछि उनी छोराछारीप्रति झनै व्यस्त भएकी हुन्। स्कुल बिदामा अभिभावकले बालबालिकालाई खुसी बनाइराख्न विभिन्न उपाय अपनाउनुपर्छ। जसमा कार्कीले फन पार्कमा खेलाएरै उनीहरुलाई रमाइलो गराउने गरेको बताइन्।
‘समयले भ्याएसम्म बाल उद्यान (खेल्ने ठाउँ) लैजान्छु’, उनले भनिन्,’केटाकेटी खुसी भए, हामी अभिभावक यसै खुसी भइँदोरहेछ।’ उनका अनुसार काठमाडौंमा बालबालिकाले खेल्ने प्रशस्त बालमैत्री उद्यान नभएको गुनासो छ। रत्नपार्क र काठमाडौँ फन पार्क बाहेक अन्य बालमैत्री उद्यानको अभाव रहेको उनले सुनाइन्।
पर्वको अवसरमा झन्डै एक महिना स्कुल बिदा भएपछि फन पार्कमा बालबालिका खेल्ने र घुम्न आउने सङ्ख्या बढेको काठमाडौँ फन पार्कका कर्मचारी राजकुमार खत्रीले बताए। उनका अनुसार अरु बेला शनिबार बालबालिकाको बढी घुइँचो लाग्ने गथ्र्यो भने अहिले हरेक दिन बालबालिका आउन थालेका छन्। दसैँतिहार पर्वमासमेत फन पार्क खुला हुने उनले बताए।
दसैँतिहार पर्व मनाएपछि रमाइलो गर्न चाहने बालबालिकाका लागि फन पार्कमा खुला हुने गरेको उनले जानकारी दिए। विगतको अनुभव सुनाउदैँ दसैँको टीका लगाएर अभिभावकले छोरोछोरी फन पार्कमा खेलाउन ल्याउने गरेको खत्रीले बताए। ‘सानादेखि ठूलाले पर्वमा फन पार्क आएर रमाइलो गर्नुहुन्छ,’ उनले भने,’काठमाडौं बाहिर जानेहरुको सङ्ख्या धेरै भएकाले पर्वको बेला चाप भने कमै हुन्छ।’
दसैँतिहार जस्ता चाडपर्वमा बालबालिकाले देखेर, सुनेर र अनुभव गरेर धेरै बाहिरी ज्ञान आर्जन गर्न सक्ने डा अरुण कुँवरले बताए। ‘यसका लागि परिवार र आफन्तले बालबालिका अनुकुल समय दिनु आवश्यक छ। छोराछोरीको व्यक्तित्व विकास गर्न र सामाजिक अन्तरघुलन स्वभाव उजागर गराउन अभिभावकले सकेसम्म घरबाहिरै खेलाउन उपयक्तु हुने उनको धारणा छ। बाहिर जति केटाकेटी खेल्छन्, उति मोबाइल जस्ता डिजिटल लतबाट टाँढिन सजिलो हुन्छ,’ डा, कुँवरले भने।
प्रतिक्रिया