मनी लाउन्डरिङमा सोनिया र राहुल गान्धीविरुद्ध आरोपपत्र दायर

भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले नेसनल हेराल्डसँग सम्बन्धित मनी लाउन्डरिङ मुद्दामा भारतीय कंग्रेस नेता सोनिया गान्धी र राहुल गान्धीविरुद्ध आरोपपत्र दायर गरेको छ।

कंग्रेसले भने यसलाई प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको ‘राजनीतिक प्रतिशोध’ भनेको छ।

कंग्रेस नेता जयराम रमेशले एक्समा लेखेका छन्, “नेसनल हेराल्डको सम्पत्ति जफत गर्नु कानुनको शासनको नाममा राज्य-प्रायोजित अपराध हो।”

उनले अगाडि लेखेका छन्, ‘सोनिया गान्धी, राहुल गान्धी र केही अन्यविरुद्ध आरोपपत्र दायर गर्नु प्रधानमन्त्री र गृहमन्त्रीको प्रतिशोधको राजनीति र धम्कीबाहेक केही होइन।’

जयराम रमेशले लेखेका छन्, ‘कांग्रेस र यसको नेतृत्व चुप लाग्दैन। सत्यमेव जयते।’

भारतीय सञ्चारमाध्यमका अनुसार विशेष न्यायाधीश विशाल गोगानेले सोनिया र राहुलविरुद्ध अप्रिल ९ मा दायर गरिएको आरोपपत्रको संज्ञानात्मक मुख्य बुँदाको जाँच गर्दै अर्को सुनुवाइको मिति अप्रिल २५ लाई तोकेका छन्।

आरोपपत्रमा कंग्रेस नेता साम पित्रोदा र सुमन दुबेको नाम पनि अभियुक्तका रूपमा समावेश गरिएको छ।

नेसनल हेराल्ड प्रकरण कंग्रेससँग सम्बन्धित ‘एसोसिएटेड जर्नल्स लिमिटेड’को सम्पत्ति दुरुपयोगसँग सम्बन्धित छ। यसका सम्पत्ति योङ इन्डियन लिमिटेडमार्फत व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिएको आरोप छ, परिणामस्वरूप कंग्रेस नेताहरूलाई आर्थिक लाभ भयो। यो मुद्दा धेरै वर्षदेखि अनुसन्धानमा छ र अब ईडीले आरोपपत्र दायर गरेसँगै नयाँ कानुनी मोडमा पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *