बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या बिचौलियाका कारणले आएको जिकिर गरे । ‘प्राइभेट सेक्टर र बिचौलिया भनेको फरक कुरा हो । हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । बिचौलियाहरुः म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ,’ महामन्त्री थापाले भने, ‘बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो । नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन ।’

बिचौलियाहरूको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको उनको भनाई छ । ‘पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला की त्यो बन्ला की । गभर्नर यसले बनाउला की त्यसले बनाउला की ? भन्नेकुरा हुन्थ्यो । अब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुने, छलफल हुने अवस्था बन्ला की आउने भनेको हामी कहाँनेर पुग्यौँ ?,’ थापाले भने ।

महामन्त्री थापाले आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्था नै नभएको जिकिर गरेका छन् । नागरिक बलियो भएमात्रै राज्य बलियो हुने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *