
बाढीले डाइभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


आज बिहानको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दुम्किवासस्थित विनयी खोलाको डाइभर्सन बाढीले बगाएपछि बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यातायात अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख प्रहरी उपरीक्षक (एसपी) यादव ढकालका अनुसार विनयी खोलामा आएको बाढीले डाइभर्सनमा राखिएका सबै नौ वटा कल्भर्ट बगाएको छ । पानीको बहाव नघटेसम्म तत्काल मर्मत गरी सडक सञ्चालन गर्न नसकिने भएकाले कम्तीमा भोलि साँझसम्म यातायात सुचारु हुन मुस्किल देखिएको छ ।
एसपी ढकालले भने, ‘खोलाको बहाव निकै बढेको छ र डाइभर्सन पूर्ण रूपमा बगेको छ । पानी नघटेसम्म अस्थायी सडक बनाउन सकिने अवस्था छैन । त्यसैले यो खण्डमा तत्काल ओहोरदोहोर गर्न सकिँदैन ।’ यात्रुहरूको सहजताका लागि प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । पूर्व–पश्चिम यात्रा गर्ने सवारीसाधनहरूलाई गैंडाकोट–रामपुर–कालीगण्डकी कोरिडोर सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।
तर, प्रहरीका अनुसार उक्त कोरिडोर सडकखण्डमा पनि आज (शनिबार) साना सवारी साधन मात्र सञ्चालन गर्न सकिनेछ । सडक सफा गर्ने कार्य जारी रहेकाले भोलि (आइतबार) देखि मात्र सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सक्ने जनाइएको छ । बुटवलबाट काठमाडौँ, झापा लगायत पूर्वतर्फ जाने सवारी साधनलाई स्याङ्जा (रामदी, गल्याङ) वा पाल्पा (रामपुर) हुँदै गैंडाकोट निस्केर यात्रा गर्न सुझाइएको छ ।
एसपी ढकालले आफू र प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेसहित सडकका प्राविधिक र इन्जिनियरहरूको टोलीले बाढी प्रभावित विनयी खोला र दाउन्ने सडकखण्डको निरीक्षण गरेको जानकारी दिए । तत्काल गर्न सकिने उपायबारे प्राविधिक टोलीसँग छलफल भइरहेको उनले बताए । महेन्द्र राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड विस्तारका क्रममा विनयी खोलामा पुल निर्माण भइरहेकोले करिब ४ महिनाअघि अस्थायी डाइभर्सन बनाइएको थियो ।
प्रतिक्रिया