‘कोरला नाकाबाट घरायसी प्रयोजनको सामान ल्याउन रोकिएको छैन’

कोरला नाकाबाट घरायसी प्रयोजनका लागि आवश्यक मालसामान ल्याउन कुनै रोकटोक नभएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ। लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले संयुक्त रूपमा शुक्रबार लोमान्थाङमा आयोजना गरेको कोरला नाका व्यापार प्रवर्द्धनसम्बन्धी छलफलमा यो जानकारी दिइएको हो।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको उपस्थितिमा भएको छलफलमा मुस्ताङ भन्सार, अध्यागमन कार्यालय, प्रशासन, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र व्यापारीहरू सहभागी थिए। छलफलमा व्यापार प्रवर्द्धनमा देखिएका समस्या र समाधानका उपायबारे चर्चा भएको थियो। मुस्ताङ भन्सार कार्यालयका प्रमुख करबीर गैरेले भन्सारमा स्थानीय कर्मचारी व्यवस्थापनमा कठिनाइ भएको बताए।

नाका खुले पनि मुस्ताङ भन्सार कार्यालयमा आवश्यक जनशक्ति र पूर्वाधार अभावले कोरला नाकाबाट आयात हुने सामानको राजस्व सङ्कलनमा समस्या भएको गैरेले उल्लेख गरे। तर, व्यापारिक प्रयोजनबाहेक घरायसी सामान ल्याउन सरकारले व्यवस्था गरेकोले त्यस्ता सामानमा भन्सारले कुनै अवरोध नगर्ने उनले स्पष्ट पारे।

भन्सारको पूर्वाधार अभाव र तत्काल व्यापारिक सामान आयात खुला गर्दा अवैध गतिविधि बढ्न सक्ने जोखिम रहेको गैरेको भनाइ छ। प्रमुख जिल्ला अधिकारी भुसालले कोरला नाकाबाट व्यापार सहज बनाउन भन्सार कार्यालयले ध्यान दिनुपर्ने बताए।

कोरला नाका व्यापार प्रवर्द्धनसम्बन्धी छलफलमा नेपाल–चीनबीचको यो नाकाबाट सामान आयात गरी व्यापार सुरु गर्ने र स्थानीय व्यापारीका समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको लोमान्थाङ गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत विकास केसीले बताए।

यसैगरी, कोरला नाकाको व्यापार सहज बनाउन भन्सार र अध्यागमन कार्यालय सञ्चालन गर्ने, भन्सारसँग सम्बन्धित अन्य कार्यालय स्थापना गर्न पहल गर्ने निर्णय भएको छ। साथै, उपल्लो मुस्ताङका सीमावर्ती गाउँपालिकामा स्थानीय व्यापारीलाई सहज व्यापारका लागि सहजीकरण गर्ने निर्णय गरिएको छ।

कोरला नाका २०८० कात्तिक २७ देखि उपल्लो मुस्ताङका नागरिकका लागि वर्षभरि खुला छ। तर, गत पुसमा यस नाकाबाट अवैध रूपमा विद्युतीय चुरोट (भेप) बरामद भएपछि मुस्ताङ भन्सार कार्यालयले सामान आयातमा कडा निगरानी गरेको छ। नाका खुलेको १४ महिनासम्म सहज व्यापार गर्दै आएका उपल्लो मुस्ताङका व्यापारीले पछिल्ला पाँच महिनादेखि कोरला नाकाबाट सामान ल्याएर व्यापार गर्न पाएका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर