
विश्वप्रसिद्ध बिस्काः जात्रा भैरवको रथ वंशगोपाल पुगेर फर्काउँदै


आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको भैरवको राथ वंशगोपाल पुर्याएको छ।
बिहीबार अपराह्न करिब ४ः०० बजे तौमढीमा विधिवत सबै पूजा गरेर तान्न सुरु भएको भैरवको रथलाई तलतर्फ गहिटी, नासमना, वंशगोपाललगायत क्षेत्रमा पुर्याएर अड्किएपछि पुनः स्थानीयले रथलाई तानेर राति ११ः०० बजे फर्काएर वंशगोपाल ल्याएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए।
बिहीबार दिउँसो १ः०० बजेसम्म गुठी संस्थानको प्रमुख र सिकर्मी नाइकेले सरकारी पूजा गरेर त्यसपछि अन्य समुदायको पूजा सकेर भैरवको रथ तान्न सुरु गरिएको थियो।
रथलाई गए राति ११ बजेसम्म तल्लो र माथिल्लो क्षेत्रका सरोकारवाला निकायले तानिरहेको थिए। जात्रा शान्तिपूर्ण रूपमा चलेको प्रहरी परिसर प्रमुख बुढाथोकीले जानकारी दिए।
जात्रा चैत ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ः०० बजे लिंगो उठाउने जात्रा हुनेछ । वैशाख १ गते अपराह्न ५ः०० बजेभित्र लिंगो ढाल्ने र वैशाख ५ गते पनि अपराह्न ५ः०० बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्नेगरी तयारी गरिएको उनले बताए।
उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा टोली आवश्यकताअनुसार खटिने गरी सुरक्षा व्यवस्था तयारी अवस्थामा राखेको बताए। जात्रा भड्काउन खोज्ने, ढुंगा हान्ने र हुलदंगा गर्न खोज्नेलाई पक्राउ गरी कडा कारबाही गरिने उनले बताए।
प्रतिक्रिया