
कुवेतविरुद्ध नेपालको शानदार जित

नेपालले कुवतेलाई ६ विकेटले हराएको छ। ओपनर कुशल भुर्तेलको शाननदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टी- २० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको हो ।
मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ। यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले हराएको थियो।
कुवेतविरुद्धको खेलमा नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे। यी दुईले पहिलो विकेटका लागि १ सय २७ रनको साझेदारी गरेका थिए। १४ औं ओभरमा आसिफ क्याच आउट हुँदा साझेदारी तोडिएको थियो।
आसिफले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रन जोडे। त्यसको २ ओभरपछि कुशल भुर्तेल पनि आउट भए। ५० बलमा ८१ रन जोडेका उनी लङ अनमा क्याच आउट भए। उनले समान ६-६ चौका र छक्का प्रहार गरे।
त्यसै ओभरमा स्पिनर यासिन पटेलले कुशल मल्ललाई आउट गरेपछि नेपाल केही दबाबमा रहेको थियो। ६ बलमा ४ रन जोडेका कुशल मल्लले यासिनलाई क्याच फिर्ता दिएका थिए।
त्यसपछि दीपेन्द्र सिंह ऐरीले आक्रामक इनिङ खेल्दै नेपाललाई जितसम्म पुर्याए। दीपेन्द्रले १८ औं ओभरमा मित भावसरलाई ३ छक्का र १ चौकासहित २५ रन जोडेपछि नेपाल जितनजिक पुगेको थियो। उनी १९ औं ओभरको पहिलो बलमा क्याच आउट भए। दीपेन्द्रले १२ बलमा २ चौका र ३ छक्कासहित ३१ रन बनाए।
गुलशन ९ रन र रोहित ५ रनमा नटआउट रहे। कप्तान रोहितकुमार पौडेलले ५ बलमा ४ रन जोडे।
टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो। ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै आक्रामक सुरुवात दिलाए । उनी पाँचौ ओभरको पहिलो बलमा ललित नारायण राजवंशीबाट क्याच आउट भए । सुरुवाती विकेटका लागि ४३ रनको साझेदारी भएको थियो।
अर्का ओपनर क्लिन्टो एन्टोले ३० बलमा ४ चौका र २ छक्कासहित ४१ रन जोडे। उनी दशौं ओभरमा आउट हुँदा कुवेत ९७(२ को सुदृढ अवस्थामा रहेको थियो । क्लिन्टोले मित भावसरसँग ५४ रनको साझेदारी गरेका थिए । मित १४ औं ओभरमा सोमपालको बलमा बोल्ड भए । उनले २८ बलमा ३५ रन जोडे । सोमपालले त्यसको २ बलपछि नै उस्मान पटेललाई १३ रनमा आफैं क्याच गर्दै पेभेलियन फर्काए।
त्यसपछि क्रिजमा आएका बिलाल ताहिरले १३ बलमा १ चौका र ४ छक्कासहित ३२ रन जोड्दै कुवेतले खेलमा फर्काए । उनी १८ औं ओभरमा नन्दन यादवको शिकार बने। एक समय २ सय रनको आँकडा छुने देखिएको कुवेतले मध्य ओभरमा नेपाली स्पिनरविरुद्ध आक्रमण गर्न नसक्दा त्यसमा सफल भएन । नेपालको फिल्डीङ आजको खेलमा कमजोर रह्यो।
नेपालका लागि सोमपालले ३, नन्दनले २ तथा ललित र कुशल भुर्तेलले १-१ विकेट लिए। आज हुने दोस्रो खेलमा आयोजक हङकङले कतारको सामना गर्नेछ।
सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको थियो।
प्रतिक्रिया