
सगरमाथा संवादमा मोदीजी नेपाल आउनुहुन्न, मेरो समय मिले त्यसअघि नै भारत भ्रमण हुनसक्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने बताएका छन् ।
सगरमाथा संवादको समयमा नै मोदीले युरोपको भ्रमण गर्ने कार्यक्रम तय भइसकेकाले नेपाल आउन नपाउने तर भारतबाट उच्चस्तरको प्रतिनिधि सहभागी हुने जानकारी गराएका हुन् ।
शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा थाइल्याण्ड भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीसँग आफ्नो भेट भएको र भेट सुमधुर भएको बताए ।
उनले उहाँले पारस्परिक सहयोगका विभिन्न क्षेत्रहरूको सम्बन्धमा र पञ्चेश्वर आयोजना, व्यापार, दोधारा चाँदनीमा महाकालीबाट सिँचाइ गर्ने कुराहरूमा छलफल भएको बताए । नेपाल—भारत सम्बन्धलाई अझ व्यापक विस्तृत, सुदृढ गर्दै लैजाने र देखिएका समस्यालाई तत्काल छलफल गरी टुंग्याउने बारेमा समझदारी भएको बताए ।
प्रधानमन्त्री ओलीले भने ‘भारत भ्रमण असम्भव कुरा थियो र ? कतिपय कारणले नभ्यारहेको स्थितिले मात्रै हो । अवरुद्ध भयो भन्ने जस्तो बाहिर छ त्यस्तो होइन । काँडेतार लगाएको छ र कसैले ? त्यस्तो होइन । ठिकै ढंगले बुझ्दा हुन्छ । हामीले भ्याउँछौँ भन्यौँ भने सगरमाथा संवादअघि भारत भ्रमण हुन पनि सक्छ ।’
प्रधानमन्त्री ओलीले नेपालबाट भारत भ्रमण सगरमाथा संवादका कारण केही व्यस्तता रहेपनि आफूले समय मिलाउनसके हुनसक्ने बताए ।
प्रतिक्रिया