
अर्थ मन्त्रालयले २५ प्रतिशत बजेट काटिदिँदा दशौं राष्ट्रिय खेलकुदको आयोजनामा प्रभावितः खेलकुदमन्त्री चौधरी


युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद आयोजना गर्नबाट आफ्नो मन्त्रालय पन्छिन नखोजेको र अर्थ मन्त्रालयले खेलकुदका लागि छुट्याइएको बजेटमा २५ प्रतिशत काटिदिँदा समस्या उत्पन्न भएको बताएका छन् ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीवारको बैठकमा खेलकुदमन्त्री चौधरीले दशौं राष्ट्रिय खेलकुद आयोजना गर्नबाट आफू पन्छिन नखोजेको र दशौं खेलकुदका लागि छुट्याएको ६० करोड बजेटमा २५ प्रतिशत काटिँदा त्यसको सुनिश्चिततामा केही समस्या हुँदा प्रभावित भएको बताएका हुन् ।
मन्त्री चौधरीले काटिएको बजेट नआएको खण्डमा खर्च भएको रकम कहाँबाट तिर्ने भन्ने समस्याका कारण केही समय तयारी प्रभावित भएको पनि स्वीकार गरे ।
बजेट पनि खर्च गर्ने र उपलब्धि पनि नहुने अवस्था आउन नदिने गरी काम गर्दा दशौं आयोजनामा ढिलाइ भएको मन्त्री चौधरीको दाबी छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न अवरोध पुगेका केही प्राविधिक पक्षमा काम भइरहेकाले खेलकुद सञ्चालनका निम्ति आवश्यक प्रक्रिया पनि अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
सदस्यसचिव घिसिङले सबै तयारी गरिरहँदा पनि केही प्राविधिक कारणले दशौं राष्ट्रिय खेलकुदको आयोजनामा केही अलमल देखिएको उल्लेख गरे । अर्थ मन्त्रालयबाट खेलकुदका आयोजनाका लागि यसअघि छुट्याइएको ६० करोड बजेटमा २५ प्रतिशत रोक्का भैरहेको अवस्थामा आयोजनाका बारेमा केही अल्योलता सिर्जना भएको सदस्यसचिव घिसिङको भनाइ छ ।
फेरि काटिएको बजेट फुक्का गरिदिनका लागि राखेपले गत चैत १७ गते नै खेलकुद मन्त्रालयमार्फत पत्र पठाउने प्रक्रियामा नै जुट्नुपरेको उनले बताए ।
काटिएको बजेटबारे सुनिश्चितता नहुँदा के गर्ने भन्ने बारेमा अलमल भए पनि अहिले अर्थ मन्त्रालयले पनि त्यसलाई फुकुवा गर्ने बताइएको उनको भनाइ छ ।
राखेपका सदस्यसचिव घिसिङले बजेट सूचना प्रणाली(एलएमबिआइएस) मा इन्ट्री गर्नका लागि खेलकुद मन्त्रालयलाई अनुरोध गरिसकेको र त्यसबारे मन्त्रालयले आवश्यक कार्य गरिरहेको सूचना प्राप्त भएको बताए ।
घिसिङले यसपल्ट जेठमा निर्धारण गरिएको समयमा सम्पन्न गर्ने गरी राखेपले काम गरिरहेको पनि समितिलाई जानकारी गराएका थिए ।
सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार सबै प्रक्रियाका काम टुङ्ग्याउनका लागि ४० दिनको समयावधि पर्याप्त नहुँदा चैतमा तय गरिएको दशौं राष्ट्रिय खेलकुदको आयोजना गर्न नसकिने भएकाले जेठको ३ देखि १० गतेसम्म तोकिएको बताए ।
फेरि अर्थ मन्त्रालयको गत फागुन ८ गतेको राय सहमतिअनुसार खर्चको नम्र्स र शीर्षगत बाँडफाँड सम्बन्धी निर्णयहरू लिनुपर्ने परिस्थित आएको र त्यसपछि राखेपको १५ गतेको बोर्ड बैठकले तीसम्बन्धी निर्णय गरिएको समितिलाई जानकारी गराए ।
ती निर्णय भएसँगै दशौं आयोजनाका लागि कामहरू तीव्र गतिका साथ अगाडि बढाएको र अहिले मूल आयोजकको समितिका साथै कार्यसम्पादन समितिको बैठकहरू भइरहेको उनको भनाइ छ ।
उनले दशौं राष्ट्रिय खेलकुदका मस्कट र लोगो सार्वजनिक भैसकेको र आयोजनास्थल कर्णाली प्रदेशमा पनि सचिवालय स्थापना गरि यसको आयोजनाको प्रक्रिया अगाडि बढाइएको उल्लेख गरे ।
सहभागी हुने विभागीय टोली र प्रदेश पनि छनोटको तयारीमा जुटिरहेको राखेपका सदस्यसचिव घिसिङ बताउछन् ।
गत चैत १२ गते युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा सबै प्रदेशका मन्त्री र सहभागी टोलीका साथै विषयगत समितिको बैठक सम्पन्न भएको र त्यो बैठकले दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्ने निर्णय गरेको उनले बताए ।
कर्णाली प्रदेश सरकारले खेलकुद आयोजनाको लागि बनेका भौतिक पूर्वाधार निर्माण भइसकेपछि त्यसको भुक्तानी गर्ने बजेट नहुँदा केन्द्र सरकारसँग माग गरेको र त्यसको भुक्तानीका लागि आवश्यक प्रक्रिया पनि अगाडि बढाइसकेको सदस्यसचिव घिसिङले बताए ।
प्रतिक्रिया