
काठमाडौं महानगरपालिका प्रशासकीय अधिकृत गुरागाईँ कार्यकक्षमा प्रवेश


काठमाडौं महानगरपालिका प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुगेका छन्। महानगरका उपमेयर सुनिता डंगोल, वडा अध्यक्ष र कर्मचारीको अनौपचारिक बैठकपश्चात गुरागाईँ आफ्नो कार्यकक्षमा प्रवेश गरेका हुन्।
लामो समयपश्चात कार्यालय फर्किएका प्रशासकीय अधिकृत गुरागाईँलाई उपमेयर सुनिता डंगोल, वडा अध्यक्ष र कर्मचारीले स्वागत गरेका थिए। सुरुमा गेटमा नगर प्रहरीले रोकेपनि कर्मचारीले गुरागाईँको पक्षमा नाराबाजी गर्दै उनलाई कार्यकक्षमा पुर्याएका थिए।
चाबी नभेटेपछि कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा लगाइएको ताला फुटाउने प्रयास गर्दागर्दै नगर प्रहरी आएर हस्तक्षेप गरेको थियो।
ताला फुटाउने काम जारी रहँदा मेयर बालेन्द्र शाह (बालेन)को निर्देशनमा काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले हस्तक्षेप गर्दै रोकेका थिए। त्यसपश्चात बोर्ड बैठक हलमा छलफल गरेर उनी कार्यकक्षमा पुगेका हुन्।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका कर्मचारीले ३ महिनादेखि तलबभत्ता लिन पाएका छैनन्। महानगरपालिकाको सेवा प्रभावित छ। जसले गर्दा महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई हाजिर गर्न दिनुपर्ने माग गर्दै कर्मचारीहरू आन्दोलित बनेका हुन्। पुरानो बसपार्कमा काठमाडौं टावरको नक्सा नियमविरीत पास गर्ने प्रक्रिया अगाडि बढाएपछि गुरागाईंलाई महानगरले जिम्मेवारीबाट हटाएको थियो।
आन्दोलित कर्मचारीले भने बालेनले सामाजिक सञ्जालमा स्टाटस लेखेको भरमा महानगर नचल्ने चेतावनी दिएका छन्।
प्रतिक्रिया