चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै

सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै छ । धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको आज दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेव मन्दिरका सहायक पूजारी कामेश्वर पाठकले बताए ।

खर्नाका दिन मिथिलानी व्रतालुहरू दिनभरि निर्जल एवं निराहार उपबास बसेर साँझपख घर घरमा खीर, पुरी, लरु (लड्डु), केरा, तुलसीको पातको प्रसाद तयार गरी कूल देवताको पूजा गरेर सूर्य भगवान् र छठी मातालाई चैती छठ पर्वको निमन्त्रण दिनुका साथै प्रसाद (नेउज) चढाउने चलन रहेको जलेश्वर ८ की व्रतालु महिला सुमिन्त्रा देवीले बताइन् ।

यस दिनमा व्रतालु महिला खरना पर्व मनाइसकेपछि राति आफूले भने अरवा अरबाईन ( विना नुन हालेको ) खानेकुरा मात्रै खाने गर्दछन् । जसमा खीर, पुरी, केरालगायत वस्तुहरू समावेश हुन्छ । चार दिनसम्म विभिन्न विधिहरू गर्दै मनाइने चैती छठ पर्व मिथिलाञ्चलको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत भारतीय भूभागमा पर्ने सम्पूर्ण मिथिलाञ्चलभरि धुमधामका साथ चलिरहेको छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताए । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

पर्वको पहिलो दिन मङ्गलबार व्रतीहरूले नहा खा अर्थात नुहाएर खाने अर्थात जीऊ चोख्याउने काम गरेका थिए भने पर्वको दोस्रो दिन आज बुधबार खर्ना मनाइरहेका छन् । त्यस्तै षष्ठी एवं चैती छठ पर्वको मुख्य दिन बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकिया जस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्गलो, कोनिया, सरवा, ढाकन, माटोको हाति, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *