
मिश्र र राणाले अदालतमा भने- हिरासतबाटै लडाइँ लड्छौँ


राजसंस्था पुनर्स्थापना जनआन्दोलनका नेताद्वय डा. धवल शमशेर राणा र रवीन्द्र मिश्रले अस्पतालमा बस्ने सुविधा नलिने स्वघोषणा गर्दै हिरासतबाटै लडाइँ लड्ने विकल्प रोजेका छन्।
‘स्वास्थ्य समस्याका कारण प्राप्त हुने अस्पताल बस्ने सुविधा म लिन इन्कार गर्दछु,’ संयुक्त जनआन्दोलन परिचालन समितिका सदस्य सचिव तथा राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले काठमाडौँ जिल्ला अदालत इजलासमा आइतबार भने।
‘राज्यले ज्यान लिन्छ भने लिओस्, साथीको (रवीन्द्र मिश्र) साथ छाड्दिनँ, हिरासतमै बसेर लडाइँ लड्छु,’ आन्दोलन परिचालन संयोजक राणाले भने।
राजसंस्था पुनर्स्थापना आन्दोलनका नेताहरु मिश्रको उच्च रक्तचाप र राणाको क्यान्सर उपचारका कारण अस्पताल राख्ने सुविधा प्राप्त होस् भनेर वकिलहरुले इजलासमा अनुरोध पेश गरेका थिए। दुवैले सो सुविधा नलिने जानकारी गराई वकिलहरुले निवेदन फिर्ता लिएका थिए। क्यान्सर रोगको शल्यक्रिया गरेका राणा नियमित परीक्षणका लागि वैशाख १५ गते भारत जानुपर्ने थियो।
मिश्र र राणाले इजलासमा भने, ‘आगजनी, लुटपाट, गोली हान्ने, अश्रुग्यास हान्ने, मान्छे मार्ने कार्यमा हाम्रो संलग्नता छैन। सरकारले शान्तिपूर्ण जनप्रदर्शनमा हामीलाई बरु दमन गर्यो, भीडलाई उत्तेजित बनाउने काम गर्यो।’
अदालतले चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनका सम्बन्धमा मिश्र र राणालाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको छ।
प्रतिक्रिया