
भूकम्प प्रभावित म्यान्मामा भारतीय सहायता पठाइयो


भारतले मानवीय सहायताका लागि हवाइ मार्गबाट सहयोग पठाएको भारतीय विदेशमन्त्रीले बताएका छन् ।
म्यान्मामा शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले व्यापक क्षति पुर्याएपछि म्यान्माको सैनिक नेतृत्वप्रति वफादार सरकारले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेको थियो ।
म्यान्माको जुन्टा प्रमुख मिन आङ ह्लाइङले अन्तर्राष्ट्रिय सहायताका लागि असाधारण दुर्लभ अपील जारी गरेका थिए । यसले अहिलेसम्म कम्तीमा एक हजार जनाको मृत्यु भएको र एक हजार ६७० जना घाइते भएको सरकारद्वारा पुष्टि गरिएकोे विपत्तिको गम्भीरतालाई सङ्केत गरेको छ ।
विगतका सैन्य सरकार ठूला प्राकृतिक विपत्तिमा पनि विदेशी सहायता झट्ट स्वीकार नगर्ने गरेपनि शुक्रबारको भूकम्पपछि तत्काल अन्तर्राष्ट्रिय सहायताका लागि असाधारण दुर्लभ अपील जारी गर्नुले म्यान्मामा व्यापक मानवीय तथा भौतिक संरचनाको क्षति भएको अनुमान गर्न सकिन्छ ।
भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सी–१३० सैन्य परिवहन विमानलाई हाइजिन किट, कम्बल, खाद्यान्नका प्याकेट र अन्य आवश्यक सामग्रीहरू लिएर पठाइएको जानकारी दिए।
उनले भने, ‘यस उडानमा खोजी तथा उद्धार टोली र मेडिकल टोली पनि रहेको छ । हामी घटनाक्रमको अनुगमन जारी राख्नेछौं र थप सहयोग पठाउने क्रमलाई जारी राख्नेछौँ ।’
मन्त्रीले सामाजिक सञ्जालमा भारतको राष्ट्रिय विपद् प्रतिकार्य निकायका सदस्यहरूले विमानमा सामान लोड गरिरहेको तस्बिरहरू साझा गरेका छन् ।
शुक्रबारको भूकम्पले म्यान्माको दोस्रो ठूलो शहर मान्डालेमा भवन, पुल र सडकहरू भत्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी भूगर्भविद्का अनुसार म्यानमामा गएको यो एक शताब्दी यताकै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्पको केन्द्रविन्दुबाट सयौं किलोमिटर टाढा रहेको थाइल्याण्डको बैङ्ककमा रहेका भवनहरूमा ठूलो क्षति पुगेको छ।
प्रतिक्रिया