गृहमन्त्री रमेश लेखकले राजावादीहरूले गरेको आक्रमण र हत्याको कानुन बमोजिम कारबाही हुने बताएका छन् ।
शनिवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरूमाथि कानुन बमोजिम अनुसन्धान गरेर कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
राजावादीहरूले तीनकुनेमा शुक्रवार गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ भने सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गरिएको छ । आक्रमणकारीहरूले शुक्रवार नेकपा ९एकीकृत समाजवादी० को पार्टी कार्यालयमा तोडफोड गरी आगो लगाएका थिए ।
सोही अनुगमन एवं निरीक्षणका क्रममा आलोकनगर पुगेका गृहमन्त्री लेखकले शुक्रवारको राजावादीहरूले प्रदर्शनका नाममा गरेको हिंसा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता,चेतनासँग टाढाटाढाको पनि साइनो नरहेको जिकिर गरे । शुक्रवारको आन्दोलन प्रदर्शन भन्दा बढी आपराधिक घटना भएको बताए ।
आततायी र अमानवीय ढंगले घटना गराइएका भन्दै गृहमन्त्री लेखकले आन्दोलनकारीले मानिसहरु घरभित्र छन् भनेर थाहा हुँदाहुँदै घरमा आगो लगाउँदा एक जना पत्रकारको ज्यान गएको र नागरिकको सुरक्षार्थ प्रहरीले बल प्रयोग गर्दा अर्का एक जनाको निधन भएको बताए । निधन हुनेहरूप्रति दुःख व्यक्त गर्दै उनले घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको गरे ।
गृहमन्त्री लेखकले भने ‘हिजो जुन प्रदर्शनका नाममा जे कामहरु भएका छन्, यसको राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता,चेतनासँग टाढाटाढाको पनि साइनो छैन । यो अत्यन्त ज्यादा आपराधिक घटना भएको छ । आततायी र अमानवीय ढंगले घटना गराइएका छन् । त्यो पनि फलानो फलानो ठाउँमा आक्रमण गर्ने भनेर घोषणा गर्ने भनेर ती कामहरु भएका छन् । मानिसहरु घरभित्र छन् भनेर थाहा हुँदाहुँदै घरमा आगो लगाइएको छ । एकजना पत्रकारको ज्यान गएको छ । एक जना अर्को मानिसको पनि ज्यान गएको छ । प्रहरीले नागरिकको ज्यानको सुरक्षा गर्नका लागि बल प्रयोग गर्नुपर्ने भयो । त्यसप्रति मेरो दुःख छ । घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सरकारले आवश्यक उपचार गर्दछ । हिजो जुन बर्बरतापूर्वक घटना भएका छन् । सञ्चारगृहमाथि आक्रमण गर्ने, छानिछानी गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घरमा, पार्टी कार्यालयमा आक्रमण गर्ने, निजी र सरकारी सम्पत्ति ध्वस्त गर्ने, सपिङ कन्फेल्क्सहरुमा आक्रमण गर्ने जुन प्रकृतिको आक्रमण भएको छ । त्यसमा कानुन बमोजिम अनुसन्धान गरेर कारबाही हुन्छ ।’
गृहमन्त्री लेखकले शुक्रवार राजावादीहरूले सञ्चार गृह, छानिछानी गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घर र पार्टी कार्यालयमा आक्रमण गर्ने, निजी तथा सरकारी सम्पत्ति ध्वस्त गर्ने, सपिङ कन्फेल्क्सहरुमा आक्रमण गरेको बताए । उनीहरूमाथि सरकारले अनुसन्धान गरी कारबाही गर्ने बताए ।
प्रतिक्रिया