दुर्गा प्रसाईं अझै फरार, खोजी तीब्र

काठमाडौंको तीनकुने शुक्रबार हिंसात्मक प्रदर्शन गर्ने राजावादी समूहका ‘जनकमाण्डर’ दुर्गा प्रसाईं अझै फरार छन् । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित पाँच जनालाई प्रहरीले गए राति नै पक्राउ गरे पनि प्रदर्शनका ‘जनकमाण्डर’ प्रसाईं भने फरार छन् ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको खोजी गरिरहेको छ । यद्यपि उनी नभेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताएका छन् । शुक्रबार निषेधित क्षेत्रतर्फ प्रदर्शनकारीहरूलाई आउन नदिनका लागि तैनाथ भएको प्रहरीलाई नै किचुँलाझै गरी प्रसाईंले गाडी हुइँकाएपछि प्रदर्शनकारीहरू उग्र बनेका थिए ।

त्यसपछिको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो भने ११० जना सुरक्षाकर्मी घाइते भएका थिए । १४ ठाउँमा आगजनीका घटना र निजी तथा सरकारी गरी १५ गाडी जलाएका थिए । परिस्थिति नियन्त्रणमा लिन काठमाडौं प्रशासनले अपराह्नदेखि कर्फ्यु आदेश जारी गरेको थियो । साँझदेखि प्रसाईंको खोजी सुरू गरेको थियो । प्रसाईं भने मोबाइल अफ गरेर भागेको प्रहरीले जनाएको छ । उनको खोजीको क्रममा प्रहरीले उनको घर निगरानी गरेको थियो ।

‘उनी मोबाइल पनि अफ नै गरेर बसेका छन् । तर धेरै टाढा गएका छैनन् कि भन्ने छ,’ उनले भने, ‘सुरूमै घरमा प्रहरीको निगरानी हुने भयो । अन्त पनि सम्भावित ठाउँहरूमा खोजी भइरहेको छ,’ शुक्रबार एक प्रहरीले भने । उनको अन्तिम लोकेशन गैरीगाउँ देखिएको थियो ।

प्रसाईंलाई ज्यान मार्ने उद्योग, हिंसात्मक गतिविधि, आगजनी र सार्वजनिक सम्पत्ति तोडफोडको कसुरमा मुद्दा चलाउन मिल्ने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए। उनको खोजीका लागि काठमाडौं र आसपासका तीनै जिल्लामा प्रहरी परिचालन भएका छन् । पक्राउ परेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरासहित पाँच जना काठमाडौं प्रहरी परिसरको नियन्त्रणमा छन् । उनीहरुलाई कुन–कुन मुद्दा लगाउने भन्नेबारे छलफल भइरहेको एसपी बोहराले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *