
भारत-नेपाल सीमा व्यवस्थापन बैठक : पारस्परिक सहकार्यलाई थप सुदृढ गर्ने सहमति


भारत नेपाल सीमा व्यवस्थापनमा पारस्परिक सहकार्यलाई थप सुदृढ गर्ने सहमति भएको छ ।
भारत-नेपाल सीमा व्यवस्थापन (बीएम) सम्बन्धी संयुक्त कार्यदल (जेडब्लुजी) को बिहिबार र शुक्रबार पोखरामा बसेको १३ औं बैठकले सो निर्णय गरेको हो ।
बैठकले सीमा स्तम्भहरूको मर्मत, आपराधिक गतिविधि न्यूनीकरण, पूर्वाधार सुदृढीकरण, तथा विपद् व्यवस्थापनमा सहकार्य विस्तार गर्ने महत्वपूर्ण निर्णय गरेको छ।
गृह मन्त्रालयका सहसचिव (सुरक्षा तथा समन्वय) रामचन्द्र तिवारी र भारत सरकारको गृह मन्त्रालयका सहसचिव (सीमा व्यवस्थापन) मिहिर कुमारको नेतृत्वमा सम्पन्न बैठकमा दुवै पक्षले सीमावर्ती क्षेत्रमा स्थायित्व र सुरक्षित आवागमन सुनिश्चित गर्नका लागि महत्वपूर्ण सहमति जनाएका छन्।
बैठकमा विशेष रूपमा पछिल्लो जेडब्लुजी बैठक (२०७९ असार १-२, नयाँ दिल्ली) मा भएको निर्णयहरूको समीक्षा गर्दै सीमा स्तम्भहरूको मर्मत तथा सम्भारलाई प्राथमिकतामा राख्ने सहमति भयो। साथै, सीमापार अपराध नियन्त्रण, एकीकृत जाँच चौकी, सडक तथा रेल सञ्जाल विस्तार, सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि, र विपद् जोखिम न्यूनीकरणका विषयमा पनि गहन छलफल भएको थियो।
सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन दुवै देशबीच पारस्परिक कानूनी सहायता सन्धि (एमएलएटी) सम्पन्न गर्ने विषयमा पनि छलफल भयो। साथै, सीमावर्ती जिल्लाहरूको संयुक्त समन्वय समिति (बीडीसीसी) को प्रगतिबारे समीक्षा गर्दै कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने निर्णय गरिएको छ।
बैठकको क्रममा दुवै पक्षले सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको बैठक नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, भारतले आगामी वर्ष भारतमा आयोजना हुने जेडब्लुजी बैठकका लागि नेपाललाई औपचारिक निमन्त्रणा दिएको छ।
प्रतिक्रिया