
बाराका डाक्टरसँग २० लाख फिरौती माग्ने व्यक्ति प्रहरीको नियन्त्रणमा


बारा प्रहरीले संगठित रूपमा धाकधम्की तथा अस्पतालम बम राखेकाे भन्दै फिराैती मागगर्ने एकजनालाई पक्राउ गरेकाे छ ।
बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं. ०५, घुसुकपुरका डा. बिकेश कुमार पाण्डेयलाई पटक–पटक फोन गरी धम्की दिने र फिरौती रकम माग्ने व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन्।
डा. पाण्डेयलाई २०८१ साल फागुन २ गतेदेखि अज्ञात व्यक्तिले फोनमार्फत धम्क्याउँदै उनको ऐ. प्लस अस्पतालमा बम राखिएको छ भनी त्रास फैलाएका थिए। साथै, धम्की दिने व्यक्तिले २० लाख रुपैयाँ फिरौतीको माग गरेका थिए।
पीडितले प्रहरीलाई घटनाबारे जानकारी गराएपछि विशेष अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा धम्की तथा फिरौती माग्ने कार्यमा संलग्न व्यक्ति बारा जिल्ला, कलैया उप-महानगरपालिका वडा नं. ०५, घुसुकपुर निवासी ४८ वर्षीय मदन मिश्र रहेको खुलेको छ।
प्रहरीको विशेष टोलीले भारतीय सीमावर्ती क्षेत्र बिहारको मोतिहारी प्रहरीको सहयोगमा शुक्रबार कलैया उप-महानगरपालिका वडा नं. १०, शिवपुर चिउटाहाबाट मिश्रलाई पक्राउ गरेको छ।
हाल प्रहरी हिरासतमा रहेका मिश्रमाथि थप अनुसन्धान भइरहेको बारा प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया