तोडफोड, हिंसा र अराजकताको निन्दा गरौँ : कांग्रेस

नेपाली कांग्रेसले सङ्घीय राजधानीको तीनकुनेलगायत केही स्थानमा शुक्रबार शान्तिपूर्ण प्रदर्शनका नाममा भएका हिंसात्मक घटनाको निन्दा गरेको छ ।

कांग्रेसले शुक्रबार विज्ञप्तिमार्फत व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारीसाधन आदिमा भएको तोडफोड र आगजनीलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

“लोकतान्त्रिक गणतन्त्रको स्थापना ०६२र६३ को जनआन्दोलनबाट सोझै भएको होइन, आन्दोलनले केवल प्रतिनिधिसभा पुनःस्थापित गरेको थियो । संसद्मार्फत अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचन र त्यो निर्वाचनबाट चुनिएका जनताका प्रतिनिधिहरूको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लगेको थियो । यो वास्तविकतालाई आजको मितिमा हामी स्मरण गर्न र गराउन चाहन्छौँ”, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्तिमार्फत नागरिकमा रहेका कयौँ असन्तुष्टिको हल वर्तमान संविधानभित्रैबाट सम्भव रहेको उल्लेख गर्दै नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नवीनता दिन दृढ ढङ्गले प्रतिबद्ध रहेको उल्लेख गरे ।

कांग्रेसले कमजोरीको निदान खोज्न र समाधान पहिल्याउन दृढ रहेको उल्लेख गर्दै समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकाङ्क्षा सम्बोधन यही संविधानको दायराभित्रैबाट क्रमशः गर्न सकिने जनाएको छ ।

“लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौँ शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन । कांग्रेस सबै राजनीतिक दललाई यसमा स्पष्ट ढङ्गले उभिन अपिलसमेत गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउनेप्रति कांग्रेसले श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचारमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ । साथै कांग्रेसले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन आग्रह गर्दै समस्त नेपालीमा संयम र एकताका लागि अपिलसमेत गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *