
कहाँ-कहाँ गर्यो राजावादी समूहले आगजनी र तोडफोड ?

राजसंस्था पुनस्थापनाको माग गर्दै शुक्रबार दुर्गा प्रसाई नेतृत्वको राजावादी समूहले काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन गरेको छ । तिनकुनेलाई केन्द्रमा राखेर राजावादी समूहले आन्दोलन गरेको भएपनि काठमाडौंका अन्य स्थानमा समेत प्रदर्शन गरेका छन् ।
उनीहरुले प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यू समेत लगाइएको छ ।
राजावदीहरुले अराजक गतिविधि प्रदर्शन गरेपछि प्रहरीले लाठी चार्ज सहित हवाई फायर समेत गरेको थियो । प्रदर्शनरत राजावादी समूहले तिनकुनेमा घर तोडफोड सहित घरमा आगजनी समेत गरेका छन् ।
राजसंस्था पुनस्थापना माग गर्दै काठमाडौंको तिनकुनेमा प्रदर्शनरत दुर्गा प्रसाई नेतृत्वको राजावादी समूहले गरेको प्रदर्शनका क्रममा एक जना सशस्त्र प्रहरी महिला घाइते भएकी छन् ।
प्रदर्शनका क्रममा एक सशस्त्र प्रहरी महिलाको टाउको फुटेको छ । राजावादी समूहको प्रदर्शन अराजक बनेको छ ।
यसअघि घरमा ताडेफोडदेखी आगजनी समेत गरिएको थियो । तिनकुने क्षेत्र अहिले तनावग्रस्त छ । स्थिती नियन्त्रणमा लिन प्रहरी अश्रुग्यासदेखी हवाई फायर समेत गरेको छ ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी भएको छ । शुक्रबार विमानस्थलको झाडीमा आगलागी भएको हो ।
आगो नियन्त्रणमा आइनसकेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) लालबाबु सुवेदीले बताए । आगो प्रदर्शनरत राजावादी समूहले लगाएको हुनसक्ने आशंका गरिएको छ ।
आगजनीको कारण बैंकक उड्ने तयारीमा रहेको थाइ एयरको उडान रद्द भएको छ । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको उनले बताए । घटनाबारे थप बुझने काम भइरहेको उनले बताए ।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा समेत लगाइयो आगो
राजावादीहरुले सरकार मातहत रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा समेत आगो लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा आन्दोलानमा होमिएकाहरुले यहाँ आगो लगाएका हुन् ।
कोटेश्वरको भाटभटेनीमा आगजनी र तोडफोड
राजावादी प्रदर्शनहरूले कोटेश्वरस्थित भाटभटेनीमा आगजनी र तोडफोड सुरु गरेका छन् ।
तीनकुनेमा तोडफोड गरे लगत्तै छिन्नभिन्न भएका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनीमा आगजनी र तोडफोड सुरु गरेका हुन् ।
प्रदर्शनकारीहरूद्वारा नेकपा एसको कार्यालयमा तोडफोड, कागजपत्र र फर्निचर बाहिर ल्याएर जलाए
काठमाडौँको तीनकुनेमा प्रदर्शनरत राजावादी समूहले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
आलोकनगरस्थिति एसको कार्यालय पुगेर राजावादीको एक समूहले ढुंगामुढा गरेका हुन् ।
उनीहरूले कार्यालय भित्र छिरेर फर्निचरका साथै कागजपत्रहरु पनि बाहिर ल्याएर जलाएका छन् ।
एमाले कार्यालय नजिकै ट्याक्सी जलाइयो,माओवादी पार्टी कार्यालय नजिक आगजनी
नेकपा एमालेको कार्यालय नजिकै प्रदर्शनकारीले एउटा ट्याक्सी जलाएका छन् । राजसंस्था पुनस्थापनाको माग गर्दै प्रदर्शनरत राजावादीहरुले ट्याक्सी जलाएका हुन् ।
प्रदर्शनकारीहरूले दिउँसो पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउमा पनि आगजनी गरेका छन् ।
बालकुमारीमा पनि गाडी जलाइयो
काठमाडौंको बालकुमारीमा समेत राजावादी पक्षधरले प्रदर्शनकारीले गाडी जलाएका छन् ।
तीनकुनेबाट लखेटिएपछि उनीहरुले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् ।
राजावादी प्रदर्शनकारीहरू अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् ।
प्रतिक्रिया