
ग्लोबल आइएमई बैंक र आईएफसीबीच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी


ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच सम्झौता भएको छ ।
बिहीबार डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरू अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एशिया र प्यासिफिक रिजनल इन्ड्रष्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौताअनुसार, विश्व बैंक समूहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रूपान्तरण तथा डाटा म्याचुरिटि मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्रहरू पहिचान गर्ने र बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्नका लागि रणनीतिक सुझाव प्रदान गर्ने बैंकले जनाएको छ ।
साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरू प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आइएमई बैंकलाई सल्लाह प्रदान गर्नेछ ।
यस समझदारीपश्चात् बैंकमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरूलाई रूपान्तरण गरी नवीन र प्रविधिमैत्री सेवाहरू विकास गर्न सहज हुने विश्वास लिएको बैंकले जनाएको छ ।
यस सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवर्द्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा नयाँनयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताए ।
उनले डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आईएफसीले विश्वभरिबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
विश्व बैंक समूहको सदस्य संस्था आईएफसीले विकासशील देशहरुमा निजी क्षेत्रको प्रवद्र्धन र विकास, आर्थिक वृद्धि र गरिबी न्यूनीकरणमा काम गर्छ ।
प्रतिक्रिया