
कुलमानको विषयमा संसद अवरोध गर्नु गलत : महामन्त्री शर्मा


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका पर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्नुले गलत सन्देश जाने बताएका छन्।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले घिसिङलाई हटाएको विषयमा संसद अवरोध गर्नु गलत भएको धारणा राखे।
महामन्त्री शर्माले अदालतमा गइसकेको विषयमा प्रधानमन्त्रीसँग संसदमा जवाफ माग्नु उचित नभएको बताए। ‘कुलमान घिसिङलाई हटाएको विषय गलत भयो भन्न सकिन्छ, पुनर्वहालीको माग गर्न सकिन्छ, तर सरकारले गरेका हरेक निर्णयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ भन्ने नजिर बसाउनु उचित हुँदैन।’
उनले घिसिङलाई हटाउनु सरकारको असहिष्णुता भएको दाबी गरे। ‘पहिलो, घिसिङको कार्यकाल समाप्त हुन केही महिना मात्र बाँकी थियो, सरकारले धैर्य देखाएन। दोस्रो, संसदमा पारित गर्नुपर्ने महत्वपूर्ण अध्यादेशहरू संसद अवरोधका कारण रोकिएको छ। तेस्रो, नागरिक असन्तुष्ट रहेका बेला सरकारको निर्णयले झन् नकारात्मक सन्देश दियो।’
महामन्त्री शर्माले घिसिङलाई पदबाट नहटाउन सरकारलाई सुझाव दिएको भए पनि त्यो कार्यान्वयन नभएको बताए।
संसद अवरोधले प्रतिस्थापन विधेयकहरू पारित हुन नसक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गर्दै उनले यसबाट राष्ट्रपतिबाट प्रमाणिकरणको समयसीमा प्रभावित हुन सक्ने बताए।
‘प्रतिपक्षीले विरोध गर्नु स्वाभाविक हो, तर अदालतमा गइसकेको विषयलाई लिएर संसद अवरोध गर्नु र प्रधानमन्त्रीको जवाफ माग्नुले गलत सन्देश दिन्छ,’ शर्माले स्पष्ट पारे।
प्रतिक्रिया