
प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको छ, अर्को कोही राजा चाहिँदैन : दुर्लभ थापा


नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले लोकतन्त्रले सबै नागरिकलाई राजा बनाउने अधिकार दिएको उल्लेख गर्दै मुलुकमा कुनै राजा र रानीको आवश्यकता नरहेको टिप्पणी गरेका छन् ।
बिहीवार भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको २९ औँ स्थापना दिवसको अवसरमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले यस्तो टिप्पणी गरेका हुन । उनले जनचाहानाअनुसार नेतृत्व परिवर्तन गर्न पाउने अधिकार आम नागरिकलाई भएको कारण व्यवस्था परिवर्तनको आवश्यकता नरहेको उनको भनाइ छ ।
उनले प्रधानमन्त्री तथा आफ्ना प्रतिनिधिले चित्तबुझ्दो र जनआकांक्षाअनुसार काम गर्न नसके जनताले स्वीकार नगर्ने भन्दै सबैले जनहितमा काम गर्न जरुरी रहेको बताए। उनले एकथरी पार्टीहरु मिसन ०८४ भन्दै हिँडेको उल्लेख गर्दै उनले काम गर्न कुनै वर्ष कुर्न नपर्ने बताए ।
उनले भने, ‘नेपालमा न कुनै आन्दोलनको आवश्यकता छ नत व्यवस्था परिवर्तनको आवश्यकता छ । न यहाँ राजाको आवश्यकता छ न कुनै रानीको आवश्यकता छ । प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको छ । त्यसकारण तपाईहरु सबै राजा हुनुहुन्छ । तपाईहरु सबै उत्कृष्ट नागरिक हुनुहुन्छ । तपाईहरुले लोकतन्त्रको अधिकतम् प्रयोग गर्न पाउनुहुन्छ । तपाईलाई कुनै प्रधानमन्त्री र कुनै नेता चित्त नबुझ्न सक्छ । हुन त एकथरी मिसन चौरासी भनेर हिँडेका छन् । हामीले बुझेको त मान्छे वृद्ध भएपछि चौरासी गर्ने हो । चौरासीमा मात्र होइन त्यसपछि पनि निर्वाचन हुन्छ ।’
मुलुकले थप अन्धकार र आन्दोलन थेग्न नसक्ने उल्लेख गर्दै उनले संविधानले नचिन्ने राजा ल्याउन लहलहैमा नलाग्न समेत आग्रह गरे ।
प्रतिक्रिया