
प्रचारबाजी गरेर स्थापित हुन खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछ : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीबिच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिस्पर्धा चलिरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कानुनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरूबिच होडबाजी चलिरहेको बताएका हुन् ।
उनले प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित गर्नको लागि प्रतिस्पर्धा गर्न आग्रह समेत गरे । उनले कर्मचारीहरूले कानुन र संविधानभन्दा माथि गएर आफूलाई स्थापित गर्न खोजेको खण्डमा सरकारले लगाम लगाएर ठिक ठाउँमा ल्याउने चेतावनी समेत दिए । उनले मर्यादा र अनुशासनभित्र बसेर काम गर्न समेत सबैको ध्यानाकर्षण गराए ।
उनले भने ‘कानुनभन्दा माथि बसेर, संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन । त्यो चाहिँ स्वेच्छाचारी हुन्छ । यो व्याप्त छ अहिले । हामी सबैले आफूलाई भयंकर स्थापित गर्नुछ । प्रचारबाजी गर्नुछ, मिडियाबाजी गर्नुछ । कर्मचारी साथीहरूलाई पनि हेर्छु म को चाहिँ बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिस्पर्धा चलेको छ । यसले समाजलाई कही पुर्याउँदैन । साँच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौं मेरो आग्रह छ । यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठिक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ । काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानुनभित्र बसेर काम गर्ने हो । यसमा तपाईँहरूको पनि ध्यान जाओस् ।’
उनले सरकारले सन् २०३५ भित्रमा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पुर्याउने लक्ष्यसहित काम गरिरहेको बताए । अबको दुई वर्षभित्रमा मुलुकका शतप्रतिशत घरधुरीमा विद्युत् पहुँच पुर्याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको उनको भनाइ छ ।
उनले भने ‘सरकारले सन् २०३५ सम्ममा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत् खपक वार्षिक एक हजार ५०० युनिट पुर्याउने लक्ष्यसहित स्वीकृत मार्गचित्रमा राष्ट्र ग्रिड नपुगेको ठाउँमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युतमार्फत अगामी २ वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पहुँच पुर्याउने लगायतका लक्ष्य रहेका छन् ।’
उनीहरुले गरिब र विपन्न वर्गले महसुल तिर्न नसकेकै कारण विद्युतको पहुँचबाट वञ्चित हुन नपरोस् भन्नको लागि प्रतिमहिना ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको उल्लेख गरे ।
प्रतिक्रिया