
मनाङमा पहिलो पटक पुग्यो बस


बेँसीसहर–चामे खण्डमा बस सञ्चालनका लागि परीक्षण गर्न सदरमुकाम चामेसम्म पहिलो पटक बस पुर्याइएको छ । लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसीसहर–पोखरा सञ्चालन हुने ना ६ ख ९५७९ नं को बस पहिलो पटक सदरमुकाम चामे पुगेको हो ।
सफल रूपमा बस चामे पुगेपछि मनाङबासीमा खुसी छाएको छ । आगामी नयाँ वर्षदेखि मनाङ सदरमुकामसम्म नियमित रूपमा बस सञ्चालन गर्ने तयारी भएसँगै निजी क्षेत्रको एकल प्रयासमा चामेसम्म बस पुर्याइएको बस सञ्चालक सुरेश घिमिरेले बताए। उनका अनुसार अन्नपूर्ण पदयात्राका लागि आउने विदेशी पर्यटकलाई लिएर उक्त बस यही चैत ७ गते चामे पुगेर हो ।
‘सुरुमा यात्रु लिएर मनाङ जाने प्रस्ताव आउँदा जाने कि नजाने अन्योल थियो । मनाङमा निर्माणाधीन मनाङ–मस्र्याङ्दी जलविद्युत्का सामान लिएर १० चक्के ट्रकसमेत सहज रूपमा पुग्ने गरेका पाएपछि यात्रुसहित बस लैजान सकिन्छ भन्ने लागेर पठाका थियौँ । जाँदाआउँदा कुनै समस्या भएन’, उनले भने।
घिमिरेका अनुसार चालक विनोद रिमालले सहज रूपमा बसलाई चामेसम्म पुर्याएर फर्केका छन् । मनाङको सडक साँघुरो र अधिकांश भाग कच्ची भए पनि अनुभवी चालक भए बस सञ्चालनमा समस्या नहुने भन्दै नयाँ र कम अनुभव भएका चालक उक्त खण्डमा नखटाइने उनले बताए।
सञ्चालक घिमिरेले स्थानीय प्रशासन तथा मनाङबासीको साथ पाए आफूले नियमित रूपमा बेँसीसहर–चामे खण्डमा यात्रुवाहक बस सञ्चालन गर्न सकिने धारणा राखे । ‘हामीले सडकको अवस्था हेरेका छौँ । अहिले परीक्षणका क्रममा अनुभव पनि भयो । अब नियमित बस सञ्चालन गर्न समस्या छैन, अनुमति पाए बस सञ्चालन गर्न सकिन्छ’, उनले भने ।
जिल्ला प्रशासन कार्यालयले जिल्लामा यात्रुवाहक बस सञ्चालनको तयारी थालेको छ । गत फागुन २५ गते जिल्ला प्रशासन कार्यालयमा बसेको समन्वयात्मक बैठकले बेँसीसहरबाट चामेसम्म आगामी वैशाख १ गते नयाँ वर्षदेखि सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए।
प्रतिक्रिया