
हेलो सरकारको वेवसाइट ‘ह्याक’

हेलो सरकारको वेबसाइट ‘ह्याक’ भएको छ । बिहान १० बजेदेखि साइटमा समस्या आएको हेलो सरकारले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारको वेबसाइट ह्याक गर्दै त्यहाँ रहेका डाटा बिक्रीमा राखेको थियो ।
ह्याकरले हेलो सरकार वेबसाइटमा राखिएका संवेदनशील डेटाहरू डार्कवेबमा बिक्रीमा राखिदिएका छन् । जसमा ह्याकर समूहले १ हजारमा पूरै डेटाबेस र १ हजार ३ सय डलरमा लाइभ सेल एक्सेस दिने उल्लेख गरेका छन् ।
ह्याकर समूहले भनेका छन्, ‘नेपाल सरकारले हामीसँग सम्पर्क गर्न अस्वीकार गरेका हामी यो सुरक्षा डेटा बिक्री गर्न बाध्य भएका छौं।’
साथै उक्त पोस्टमा हेलो सरकारको सिस्टमको फाइल मेनेजरको स्क्रिनसट राखिदिएको छ ।घुद्रा नामका ह्याकरको समूहले ह्याक गरेर सरकारका सूचना बिक्रीमा राखेको जनाएको थियो । अहिले साइटमा देखिएको समस्या समाधानको प्रयास भइरहेको हेलो सरकारले जनाएको छ ।
‘हाम्रो साइटमा टेक्निकल समस्या भइरहेको छ’, हेलो सरकारका एक कर्मचारीले भने, ‘यहाँ आईटी टिमले समस्या समाधानको काम गर्दै हुनुहुन्छ ।’ यस विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले बुझिरहेको बताएको छ । केन्द्रका निर्देशक एवं प्रवक्ता राजकुमार महर्जनले प्रधानमन्त्री कार्यालयसँग समन्वय गरेर कस्तो खाले साइबर आक्रमण भएको हो र समाधान कसरी गर्न सकिन्छ भनेर बुझिरहेको जानकारी दिए ।
प्रतिक्रिया