
राजावादीहरूले सहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखे : शंकर पोखरेल


नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरूले सहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेको आरोप लगाएका छन् ।
बुधवार काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले तत्कालीन माओवादीले सहरी विद्रोहको माध्यमबाट सत्ता कब्जा गर्ने रणनीति अपनाए जस्तै राजावादीहरूको अहिलेको बाटो त्यस्तै भएको जिकिर गरे । उनले राजावादीहरूले अगाडि सारेको पश्चगामी मुद्दाहरू सफल हुन नसक्ने बताए । आगामी दिनहरूमा राजावादीहरू अवाञ्छित क्रियाकलापमा लाग्ने भन्दै उनले त्यस्ता गतिविधिमा लाग्नेहरूलाई संवैधानिक परिधिमा फर्किन बाध्य पार्ने गरी पार्टीले गतिविधि गर्नुपर्ने बताए ।
उनले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टीका सम्पूर्ण युवा एकपटक पुनः जुरमुराउनु पर्ने अवस्था सिर्जना भएको जिकिर गरे ।
उनले भने ‘जसरी विगतमा माओवादीहरूले सहरी विद्रोहका माध्यमबाट सत्ता कब्जा गर्ने सपना देखेका थिए, आज राजावादीहरू त्यसैगरी सपना देख्दै छन् । देशभरिका आफ्ना समर्थकहरूलाई भेला गरेर उनीहरु भन्दैछन् जनता त अब राजसंस्थाको पुनः स्थापनाको पक्षमा छन् भन्ने खालको दाबी गरिरहेका छन् । उनीहरुले जुन प्रकारको बाटो अवलम्बन गरेका छन् त्यो बाटो हिजो माओवादी केन्द्रले अविलम्बन गरेको बाटो नै हो, जसलाई हामीले असफल बनाएका थियौँ, राजावादीहरू त्यही बाटो अविलम्बन गर्दैछन् । त्यो पनि पश्चगामी एजेण्डाका साथ, त्यो बाटो सफल हुन सक्दैन भन्ने कुराको सच्याइलाई तपाई हामी सबैले बुझ्नु जरुरी छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु । त्यसअर्थमा, स्वाभाविक रूपले अबका दिनहरूमा राजावादीहरूका अवाञ्छित क्रियाकलापहरूलाई कानुनको सीमाभित्र, वैधानिकताको सीमाभित्र आउनका लागि बाध्य पार्ने तरिकाहरू अविलम्बन गर्नुपर्छ भन्ने मलाई लाग्छ । अराजकताका विरुद्धमा पार्टी र लोकतन्त्रको रक्षाका लागि, गणतन्त्रको रक्षाका लागि फेरि युवाहरू एकपटक जुरमुराएर तात्नु पर्ने अवस्था छ भन्ने कुरा राख्न चाहन्छु र त्यही उद्देश्यका साथ स्वंसेवकहरुको राष्ट्रिय भेला भएको कुरा तपाईँहरूबिच राख्न चाहन्छु ।’
महासचिव पोखरेलले विगतमा माओवादीको सशस्त्र द्वन्द्वलाई अन्त्य गरी माओवादीलाई राजनीतिको मूलधारमा ल्याउन एमालेले मुख्य भुमिका खेलेको जिकिर गरे । उनले राजसंस्था पुनः स्थापना गर्ने राजावादीहरूको क्रियाकलाप असफल पार्न पार्टी एक भएर लाग्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया