
प्रचण्डले भने- कुलमान हटाउन एक दुई दिन पर्खिएको भएपनि हुन्थ्यो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूमाथि पुनः जालझेल भएको गुनासो गरेका छन् ।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सिंहदरबारबाट निस्किएलगत्तै मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेकोमा दुःख व्यक्त गरे ।
उनका अनुसार संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी छलफल टुंगिएपछि आफू सिंहदरबारबाट बाहिरिएलगत्तै कुलमान हटाइएको थियो ।
‘प्रधानमन्त्रीले आएर संसदमा स्पष्टीकरण नदिएसम्म सदन अघि बढ्दैन,’ दाहालले भने, ‘प्रधानमन्त्रीले सहज रूपमा लिनुपर्छ, चित्तबुझ्दो जवाफ आए संसद चल्छ, अन्यथा आन्दोलन अघि बढ्छ ।’
उनले भने, ‘जनताको समर्थन पाएका कुलमानलाई पुरस्कृत गर्नुपर्ने हो, तर उल्टै हटाइयो ।’
दाहालका अनुसार टीआरसीबारे छलफल सकेर आफू बाहिरिएपछि मन्त्रिपरिषद् बैठक बसेर कुलमान हटाउने निर्णय गरिनु ठूलो जालझेल भएको हो । ‘एक-दुई दिन पर्खिएको भए पनि हुन्थ्यो, तत्काल निर्णय गर्नुपर्ने बाध्यता थिएन,’ उनले थपे ।
उनले राप्रपाको ज्ञानेन्द्र शाही लगायतले टीआरसीसँग कुलमान साटियो भन्ने प्रचार गरेको प्रति पनि आपत्ति जनाए । अध्यक्ष दाहालले यो घटनाले आफूलाई फेरि ‘स्वर्ग र नर्क’ सम्झाएको बताए ।
प्रतिक्रिया