समय अगावै पालुवा पलाउँदा सङ्कटमा पुतलीको जीवन

फागुन नलाग्दै पलाएका बोटबिरुवाका पालुवा करिब–करिब छिप्पिसकेका छन्। भर्खर निस्कन थालेका लार्भाले खाने पालुवा समय अगावै पलाउँदा खानेकुराको जोहो गर्न उनीहरूलाई कठिन हुन थालेको छ।

हिउँद तातो हुँदै गएको विभिन्न अध्ययनहरूले पनि देखाएको छ, जसले बोटबिरुवामा पालुवा र फूल छिट्टै लाग्न थालेका छन्। वन तथा वातावरण मन्त्रालयका इकोलोजिस्ट डा प्रकाशसिंह थापाका अनुसार बढ्दो तापक्रमसँगै बदलिँदो जलवायु परिवर्तनको असर पुतलीको जीवनचक्रमा पर्न थालेको छ। ‘पुतलीको पहिलो सानो लार्भाले खाने बेलामा तिनका पात छिप्पिसकेको हुन्छ र खान सक्दैन। त्यसले उसको जीवन सङ्कटमा पर्न थालेको छ’, उनले भने।

खानेकुराको चक्रमा असर पर्दा पुतली लार्भा कमलो पातको खोजीमा भौँतारिँदै पुतली नहुँदै मर्न सक्ने खतरा बढेको छ। पुतलीको जीवनचक्रमा पहिले पुतलीले पारेको फुल सुहाउँदिलो न्यानो मौसममा लार्भामा परिणत हुन्छ। सानोबाट मध्यम र ठुलो हुँदै लार्भाको चार चरणको काँचुली फेरिसकेपछि पाँचौँ चरणमा प्युपामा परिणत भएको करिब एक सातामा वयस्क पुतली बनेर निस्कन्छ। यी सबै चरण पार गर्न वातावरण सुहाउँदो भएमा कम्तीमा चार हप्ता लाग्छ।

पुतली नेपालको पारिस्थितिक प्रणालीको महत्वपूर्ण चरका रूपमा रहेको छ। पुतली नहुँदो हो त ठूला(साना बोटबिरुवामा फूल तथा फल लाग्नै कठिन हुन्थ्यो। पुतली एउटा बोटदेखि अर्को बोट अनि एउटा फूलदेखि अर्को फूलमा रमाउँदै हिँड्ने जीव हो।

‘मात्र रमाउने काम यसले गर्दैन, बिरुवामा फूल र फल लगाउने महत्वपूर्ण काम ‘पोलिनेसन’ गराउने सारथि पुतली हुन्’, पुतलीविज्ञ भैया खनालले भने।’ निशाचर र दिवाचर दुईथरीका पुतली प्रकृतिमा पाइन्छन्। दिवाचर दिउँसो सक्रिय हुन्छन् भने निशाचर रातमा बढी सक्रिय हुन्छन्। रातमा सक्रिय हुने प्रायः मोथ पुतली रहेको उनले बताए

उनका अनुसार हिउँद सकिएसँगै लाग्ने वसन्त ऋतुको आगमनले बोटबिरुवाले पालुवा हाल्ने र फूल फुल्ने मौसम ल्याउँछ। यही मौसममा पुतलीले आफ्ना अन्डाबाट लार्भा जन्माउँछन्। अनि लार्भा खानाको खोजीमा बोटबिरुवाका पातपातमा पुग्छन्। लार्भा अति नै खन्चुवा हुन्छ। पुतलीविज्ञ खनालका अनुसार कतिपय पुतली एउटै खालका बोट बिरुवाका पात मात्र मन पराउने हुन्छ, जसलाई मोनो फाइलस भनिन्छ। कतिपय भने दुईभन्दा बढी बोटबिरुवाका पात छानी छानी खान रुचाउँछन्।

नेपालभरमा कुल ६९२ प्रजातिका पुतली रेकर्ड भएको छ। गोरखापत्र दैनिकमा समाचार छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *