
अहिले नै जनताले चौरासी गर्ने जस्तो स्थिति भइसक्यो : सांसद बाँस्कोटा


नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अरनी राजमार्गअन्तर्गतको ४ किलोमिटर सडक बनाउन नसक्दा जनताको आलोचना व्यहोर्नु परिरहेको बताएका छन् ।
मङ्गलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचनलाई लक्षित गरेर २०८४ भन्ने गरिएको भएपनि जनताले अहिले नै चौरासी गर्न लागिसके भन्दै व्यंग्य गरे ।
उनले जसलाई जहाँ दुखेको छ त्यहीँबाट आफ्ना कुराहरू सुरु हुने र आफूले उठाएको कुराले मन्त्रीको चित्त दुखेको भन्दै सडक नबन्दा जनताको चित्त दुखेको बताए । केरुङ नाका नखुल्दासम्म अरनीको राजमार्ग एउटा मात्रै चीन जोड्ने माध्यम भएकाले समयमै निर्माण गर्न आग्रह गरे ।
उनले भने ‘जसलाई जहाँ दुखेको छ, कुरा त्यहीँबाट सुरु हुन्छ । मन्त्रीज्युको चित्त दुःख्यो अरे मैले कुरा उठाएँ भनेर । यो चित्त मेरो दुखेको होइन हजुर, त्यो क्षेत्रबाट निर्वाचित सांसद हुँ म । अरनीको हाइवे हो । २०२६ सालमा बनेको र यो अहिले केरुङ पट्टिको बाटो नहुँदा चीनसँग जोड्ने एउटा मात्रै मार्ग हो । २२ अर्ब राजश्व सरकारले तोकेको छ, तातोपानी भन्सार । केही पनि हिँड्दैन त कहाँबाट आउँछ ? उदेक लाग्दो कुरा के छ भने मेरो त घोक्रो पनि सुक्यो, नशा पनि फुल्यो, अब ०८४, ०८४ भनेका छन् । अहिले नै जनताले चौरासी गर्ने जस्तो स्थिति भइसक्यो ।’
अरनी राजमार्गको ४ किलोमिटर बाटो ४ वर्षसम्म किन बनेन भनेर कहिल्यै मन्त्रालयमा समीक्षा भएन भन्दै भन्दै प्रश्न गरे ।
प्रतिक्रिया