नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने तयारी : उड्डयनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने तयारी भइरहेको बताएका छन् ।

सोमवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन । नागरिक उड्डयनको क्षेत्रमा कुनैपनि बेला नतिजा आउने गरी तदारुकताका साथ काम गरिरहेको उनको दाबी छ । उनले उड्डयनको क्षेत्रलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न जहाज थप्नुको विकल्प नरहेको बताए ।

धेरै वटा देशहरूबाट सिधा उडानको प्रस्ताव आएको उल्लेख गर्दै मन्त्री पाण्डेले १० वटा वाइडबडी र १० वटा न्यारोबडी थप्नुपर्ने बताए । उनले सबैतिरबाट ध्वजावाहक जहाज नै चढ्न खोज्दा समस्या भएको बताए ।

उनले भने ‘नागरिक उड्डयनको क्षेत्रमा नेपाल एयरलाइन्सलाई सुचारु बनाउने सन्दर्भमा हामी गहन छलफलमा छौं । कुनैपनि बेला नतिजा आउने गरी हामी छलफलको तदारुकतामा छौं । अब प्लेन नथपीकन कुनै उपाय नै छैन । १० वटा वाइडबडी र १० वटा न्यारोबडी भइदिए मात्र सञ्चालन गर्न सजिलो हुन्छ । सबैतिरबाट सिधा उडानको लागि प्रस्ताव आएका छन् । जुनसुकै देशले पनि ध्वजा वाहक नै चढ्न खोज्ने रहेछन् । नेपालीले त खोज्ने नै भयो अरुले पनि सम्बन्धित देशमा जाँदा त्यो देशको ध्वजावाहक भयो भने ढुक्क अनुमति गर्दो रहेछ ।’

उनले लिजमा जहाज लिएर उडाउने प्रक्रिया अन्तिम चरणमा रहेको समेत बताए । उड्डयनको क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नेगरी सरकार हवाई नीति ल्याउने तरखरमा रहेको समेत बताए । विदेशी तथा स्वदेशी एयरलाइन्सहरुबीच टिकटमा देखिएको असमानता हटाउनको लागि समेत आवश्यक अध्ययन उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *