
निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यकः सभापति देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी निकट निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्व अर्थतन्त्र नै जोखिमपूर्ण अवस्थामा रहेको वर्तमान सन्दर्भमा, मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठूलो योगदान पुर्याउने र २५ लाखभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिने निर्माण उद्योगलाई समृद्ध बनाउनु अपरिहार्य रहेको उल्लेख गरे।
निर्माण उद्योगको प्रवर्द्धनका लागि निर्माण व्यवसायी ऐन, कानुन तथा नियमावली प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, निर्माण व्यवसायीहरूले भोगिरहेका भुक्तानी समस्या, निर्माण सामग्रीको मूल्यवृद्धि, तथा व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरणको अभावजस्ता विषयहरूमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै, समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
व्यावसायिक प्रवर्द्धनका लागि निर्माण व्यवसायीहरू प्रविधिमैत्री बन्नु आजको आवश्यकता भएको उल्लेख गर्दै, योजनाहरू तोकिएको समय र लागतमा सम्पन्न नहुनु नै आजको मुख्य चुनौती रहेको बताए ।
सभापति देउवाले भने, ‘विश्व अर्थतन्त्र नै जोखिममा रहेको वर्तमान परिस्थितिमा, मुलुकको कुल गार्हस्थ्य उत्पादनमा महत्त्वपूर्ण योगदान दिने र लाखौंलाई रोजगारी प्रदान गर्ने निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक छ। यसका लागि ऐन, कानुन तथा नियमावली तर्जुमा गर्न म आफ्नो तर्फबाट सक्दो पहल गर्नेछु।’
निर्माण व्यवसायीहरूले झेलिरहेका भुक्तानी समस्या, निर्माण सामग्रीको मूल्यवृद्धि, तथा व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरणको अभाव आफ्नो प्रमुख चासो रहेको उनले बताए । उनले भने, ‘यी समस्याहरूको समाधानका लागि म र मेरो पार्टी निरन्तर लागिरहनेछौं। व्यवसायिक प्रवर्द्धनका लागि निर्माण व्यवसायीहरू प्रविधिमैत्री बन्नु आजको आवश्यकता हो। साथै, योजनाहरू निर्धारित लागत र समयमा सम्पन्न नहुनु हाम्रो मुख्य समस्या हो, जसको समाधानका लागि सरकारको पनि प्राथमिकता आवश्यक छ।’
नेपालका निर्माण व्यवसायीहरूले नेपालमा मात्र नभई विदेशमा समेत उत्कृष्ट कार्य सम्पादन गरिरहेको उल्लेख गर्दै, सभापति देउवाले सुरुङ मार्ग, रेल सेवा, जलविद्युत् क्षेत्रजस्ता भौतिक पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए ।
उनले निर्माण व्यवसायीहरूलाई विकासका संवाहकका रूपमा परिभाषित गर्दै, अर्थतन्त्रलाई गतिशील बनाउन सबै पक्षले आफ्नो–आफ्नो भूमिकामा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया