सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमा : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शासन सत्तामा पुग्नेहरूले गरेका विकृतिका कारण लोकतान्त्रिक गणतन्त्रको बदनाम भएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले आम सर्वसाधारणको जीवनयापन उकास्न तथा देशमै उद्योगधन्दा स्थापना गरी रोजगारीको व्यवस्था गर्न २०६२/०६३ को क्रान्ति भएको बताए । उनले क्रान्तिमार्फत जनताले गरेको आशा र भरोसामाथि सत्तामा पुग्नेहरूले वास्ता नगरेको आरोप लगाए । नेताहरू दलाल पुँजीपतिहरूको दलाली गर्ने र कमिसनतन्त्रमा रमाउन थालेकाले लोकतन्त्रमाथि अनेक किसिमको प्रहार हुन थालेको उनको भनाइ छ ।

उनले भने ‘हाम्रो देशमा जुन प्रकारको शासन सत्ता छ, नाम कक्युनिष्ट पार्टीसमेत राखिएका छन् तर कम्युनिष्ट पार्टीको नाम राखेपनि तिनीहरू वास्तवमा दल का पुँजीपति वर्गको दलाली गर्ने बाहेकका अरू कोही पनि छैनन् । त्यो किसिमको दलाली गर्ने कारणले गर्दा कमिसनको एउटा भोटले गर्दा हाम्रो देशका नेताहरू पनि एकपछि अर्को बिक्रीपट्टामा भइरहेका छन् । कमिशनखोरहरुले किनिदिन्छ उनीहरूलाई रातारात । जसले गर्दा देशमा विकृति र विसङ्गतिका डङ्गुर लागेको छ । यो डङ्गुर लाग्ने कुराले आज गणतन्त्रसमेत बदनाम हुँदै गइरहेको छ । लोकतन्त्रसमेत बदनाम हुँदै गएको छ । हामीले गणतन्त्र ल्याएको नितान्त दलाल पुँजीपति वर्गको सेवाको निम्ति होइन । दलाल पुँजीपति वर्गले जे जे भन्छ त्यसको निर्देशनमा काम गर्नका लागि होइन । हाम्रो देशका आमश्रमिक वर्गको हित हुनेछ, देशका आमकिसानका हित हुने छ, यो देशको कृषिले आधुनिकीकरणको रूप लिने छ, आधुनिक प्रविधिद्वारा भूमिसुधार गरिने छ, देशकै कच्चापदार्थमा आधारित व्यापक उद्योगधन्दा स्थापना गरिने छ र हाम्रो देशको राष्ट्रियतामाथि खडा भइरहेका अनेक वितण्डाका विरुद्ध पनि दृढतापूर्वक राज्यलाई एकताबद्ध गरेर अगाडि बढाउन सक्ने छौ कि भनेर पो २०६२/०६३ को क्रान्ति भएको हो त । र त्यो क्रान्तिमार्फत नेपाली जनताले जुन सपना देखेका थिए, त्यो सपनालाई वास्तवमा भन्ने हो भने संविधान निर्माण भएपछि सत्तामा पुगेका सत्ताधारीहरूले कहिल्यै पनि वास्ता गरेनन्, त्यो वास्ता नगर्नुको परिणाम हामीले अहिले भोगिरहेका छौँ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले राज्यसत्तामा हुनेहरूको नीतिहीनता र अकर्मण्यका कारण देशमा प्रतिगमनकारी शक्तिहरु सलबलाउने मौका पाएको बताए । उनले सबै किसिमका प्रतिगमनकारीहरूलाई परास्त गरी देशलाई आमूल परिवर्तनको दिशामा लैजान तत्काल पहलकदमी थाल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर